बीमा समितिमै अलपत्र पर्यो बीमा सूचना केन्द्रको प्रस्ताव



काठमाडौं । बीमा समितिले बीमाक्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न ल्याउने लागेको बीमा सूचना केन्द्रको प्रस्ताव बीमा समितिमै ओझेलमा परेको छ ।

झण्डै २ महिना अघि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र बीमा समितिका अधिकारीसहित बसेको बैठकले तत्काल बीमा सूचना केन्द्र स्थापना गर्ने छलफल भएको थियो ।

छलफलका क्रममा केन्द्र स्थापनाको लागि कार्यविधि बनाउने र त्यसको लागि कमिटी गठन गर्ने भनिएको थियो । त्यसका लागि कार्यविधि बनाउने छलफल भए पनि त्यसपछि भने कुनै पनि छलफल नभएको समिति स्रोतले जनाएको छ ।

स्रोतका अनुसार २ महिनादेखि यो विषयमा समितिले कुनै चासो देखाएको छैन ।

उनले भने, ‘त्यो छलफलमा कानूनी संरचना कस्तो हुने, त्यसको लागत कति हुने भन्ने विषयमा पनि छलफल भएको हो । त्यसयता कुनै प्रगति भएको छैन । यो आवश्यक विषय हो । आवश्यक विषयमा समितिले ध्यान दिन हेलचेक्रयाई गरिरहेको छ ।’

उक्त विषयमा कहिले छलफल हुने भन्ने अन्योल रहेको स्रोतको भनाइ छ । यस विषयमा बीमा कम्पनीहरुले भने चासो देखाएको उनको भनाइ छ ।

हाल जीवन बीमा गर्ने कम्पनी १९, निर्जीवन बीमा गर्ने कम्पनी २० र एक पुनर्बीमासहित ४० वटा बीमा कम्पनी सञ्चालनमा छन् ।

स्रोतका अनुसार प्रत्येक बीमा कम्पनीबाट १ लाख रुपैयाँका दरले उठाउने र समितिले ३ लाख थपेर सूचना केन्द्र खोल्ने अनौपचारिक छलफल भएको थियो ।

दुई महिना यता कुनै पनि बैठक नबस्दा उक्त अनौपचारिक निर्णय औपचारिक हुन सकेको छैन । सूचना केन्द्र सञ्चानलमा आएपछि कुनै संस्था, कम्पनी वा व्यक्तिले कुनै पनि बाहनामा ठगेको खण्डमा उसलाई कालोसूचिमा राख्ने योजना छ ।

त्यसका लागि बीमा कम्पनीहरुले आफ्ना सेवाग्राहीको सूचना भने केन्द्रमा जानकारी गराउनु पर्नेछ ।

समितिका अनुसार बीमा गरेको पैसा लिनका लागि छोरी मार्ने, औद्योगिक क्षेत्र, कलकारखाना, उद्योग धन्दामा आफै वा जानाजान आगो लगाउने परिपाटीलाई कम गर्न सूचना केन्द्र सहयोगी हुने अपेक्षा गरिएको छ ।

केन्द्रले काम सुरु गरेपछि बीमा क्षेत्रमा हुने वित्तीय अपराध कम हुने बीमा समितिको आंकलन छ ।


क्लिकमान्डु