१६ करोड ठगी मुद्दा लागेका बहालवाला राज्यमन्त्री रावलको सम्पत्ति रोक्का
काठमाडौं । क्याम्पसको १६ करोड रुपैयाँ ठगीको आरोप लागेका सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति रोक्का भएको छ ।
समपत्ति शुद्धिकरण अनुसन्धान विभागले रावलविरुद्ध परेको उजुरीका आधारमा छानबिन सुरु गरेपछि उनको सम्पूर्ण सम्पत्ति रोक्का गर्नका लागि एक टोली पठाएको थियो ।
टोलीले बुधबार सम्पत्ति रोक्का गरी बिहीबार काठमाडौं फर्किएको छ ।
‘रावलविरुद्ध छानबिन सुरु भइसकेपछि सम्पत्ति रोक्का गर्नुपर्ने हुन्छ, सोही अनुसार एक टोलीलाई कञ्चनपुर पठाएका हौं’ सम्पत्ति शुद्धिकरण विभाग स्रोतले क्लिकमाण्डूसँग भन्यो ।
विभागले छानबिनका लागि एक प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वको टोली २ दिन अघि नै कञ्चनपुर पठाएको थियो ।
महेन्द्रनगरको जनज्योति क्याम्पसका सेयर सदस्य समेत रहेका रावलसहित ३६ जना विरुद्ध गत साउन महिनामा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो । जसमा ठगी र कागजात कीर्ते गरेको उल्लेख गरिएको थियो ।
रावल क्याम्पसका पूर्वअध्यक्ष समेत हुन् ।
रावलविरुद्ध भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशीसमेत १० जनाले गत साउन ७ गते ठगी र कागजात कीर्ते गरेको सम्बन्धि मुद्दा दर्ता गरेका थिए ।
रावल कञ्चनपुर निर्वाचन क्षेत्र ३ का प्रदेश सभा (क)बाट तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।