कालापानी नेपालको हो, भारतको एकलौटी निर्णय मान्दैनौंः परराष्ट्र
काठमाडौं । कालापानी क्षेत्र नेपालको भूभाग भएकोमा सरकार स्पष्ट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रष्टोक्ती दिँदै मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देश बीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको समेत जनाइएको छ ।
दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने मन्त्रालयको भनाई छ ।
सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरू बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा दृढ रहेको समेत जनाएको छ ।