बैंकमा निक्षेप घट्यो, कर्जा प्रवाहमा सुस्तता



काठमाडौं । वाणिज्य बैंकमा कात्तिकसँगै निक्षेप घटेको छ ।

असोज मसान्तसम्ममा बैंकहरुमा २९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । कात्तिक १५ सम्ममा बैंकहरुमा २९ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

कात्तिकको पहिलो साता बैंकमा निक्षेप २९ खर्ब ५२ अर्बमा झरेको थियो । एकाएक बैंकबाट २१ अर्ब रुपैयाँ निक्षेप घटेको थियो ।

कर्जा प्रवाह तर्फ भने असोज मसान्तको तुलनामा कात्तिक १५ सम्ममा २ अर्ब रुपैयाँले मात्र बृद्धि भएको छ ।

तिहारको ५ दिन बिदा रहेको हुँदा पनि बैंकमा कर्जाको फाइल स्वीकृत नभएर बसेको हो ।

यसबाहेक चालु आर्थिक वर्षको सुरुवातदेखि नै गतवर्ष जस्तै यो वर्षपनि निक्षेप र कर्जाको असन्तुलन भने कायम नै छ ।

साउन देखि अहिलेसम्म बैंकहरुले जम्मा ८४ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् भने कर्जा १ खर्ब ३३ अर्ब रुपैयाँले बढाएका छन् ।

सरकारले विकास निर्माणको खर्च जेठ तथा असारमा गरेको हुँदा त्यो पैसाले पहिलो त्रैमास सहज भएपनि अब भने बैंकहरुलाई तरलता व्यवस्थापन गर्न नै कठिनाई उत्पन्न भएको छ ।

सरकारले विकास खर्च बढाउन सकेको छैन । जसले गर्दा बैंकहरुलाई स्रोतमा थप दवाव सिर्जना भएको छ ।


क्लिकमान्डु