३ करोड कर्जा दुरुपयोग गर्ने २ जना फरार अभियुक्त पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ३ करोड रुपैयाँ कर्जा दुरुपयोग गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले क्रिष्टल फाइनान्स लिमिटेड थापाथलीबाट जग्गा धितो राखी २ करोड ७४ लाख ४८ आफू खुसी अस्वभाविक रुपमा मूल्यांकन गराइ कर्जा लिएर त्यसको दुरुपयोग गर्ने संजय पोख्रेल र लक्ष्मी देवी पोख्रललाई पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला हेटौंडा उप-महानगरपालिका-२ का संजय र सोही ठाँउ बस्ने लक्ष्मी देवीलाई ब्यूरोले पक्राउ गरेको हो । संजयलाई बैकिंङ कसुर अभियोगमा मुद्दा दर्ता भएर १ करोड ९५ लाख २६ हजार रुपैयाँ जरिवाना र ३ बर्ष कैद सजाय गर्नु भनेर उच्च अदालत पाटनले फैसला गरेको थियो ।

त्यस्तै लक्ष्मीलाई पनि ७९ लाख २२ हजार रुपैयाँ जरिवाना गरेर २ वर्ष कैद सजाय दिन फैसला गरेको थियो ।

फरार रहेका संजयलाई ब्यूरोले २०७६ कात्तिक १८ गते काठमाडौंको गौशाला र लक्ष्मीलाई १९ गते पर्सा जिल्लाको वीरगञ्जबाट पक्राउ गरिएको छ ।

उनीहरुलाई बैकिंङ कसुर मुद्दामा उच्च अदालत पाटनले ०७१ मंसिर २१ गतेको जरिवानासहित कैद भुक्तान गर्न आदेश दिएको थियो । फरार रहेका पोख्रेलद्वयलाई पक्राउपछि संजयलाई प्रहरीले जिल्ला अदालत काठमाडौं र पर्सामार्फत् कैद भुक्तानका लागि पठाएको छ ।

पोख्रेलद्वयले २०६७ फागुन २५ गते क्रिष्टल फाइनान्सबाट जग्गा धितो राखेर कर्जा लिएका थिए ।


क्लिकमान्डु