राष्ट्रपतिद्वारा ७ वटै प्रदेशका प्रमुख नियुक्त, मंगलबार सपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ७ वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
आइतबार सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदपुक्त गरेकी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
जसअन्तर्गत प्रदेश नम्बर १ मा कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा बाँकेका तिलक परियार, प्रदेश नम्बर ३ मा झापाका विष्णप्रसाद प्रसाई, गण्डकी प्रदेशमा चितवनका अमिक शेरचन नियुक्त भएका छन् ।
त्यस्तै, प्रदेश नम्बर ५ मा सिराहका धर्मनाथ यादव, कर्णाली प्रदेशमा बैतडीका गोविन्दप्रसाद कलौनी र सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा चितवनकी शर्मिलाकुमारी पन्त नियुक्त भएका छन् ।
नियुक्त प्रदेश प्रमुखहरुलाई मंगलबार सपथ खुवाइनेछ ।