पाकिस्तानबाट अस्वभाविक रुपमा आयात बढ्यो, पाकिस्तानको छोकडा ल्याएर भारत निकासी



काठमाडौं । पाकिस्तानसँग नगन्य रहेको व्यापार यो वर्ष अस्वभाविक रुपले बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार तीन महिनामा पाकिस्तानबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

आयात अस्वभाविक रुपमा बढेपनि निर्यात भने सामान्य नै छ । तीन महिनामा पाकिस्तान तर्फ ४० लाख रुपैयाँको मात्र निर्यात भएको छ । अघिल्ला वर्षहरुमा घाटा भएपनि बराबर जस्तो रहेको पाकिस्तानसँगको व्यापारघाट भने ह्वातै बढेको छ । तीन महिनाको अवधीमा पाकिस्तानसँग मात्र नेपालको व्यापारघाटा १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँको आयात भएको थियो । ५३ करोड रुपैयाँको निकासी भएको छ ।

नेपाल र पाकिस्तानबीच सामान्य खाले व्यापार हुने गर्छ । नेपालले भारतीय बन्दरगाह प्रयोग गर्नुपर्ने तथा सडक मार्गबाट पाकिस्तानसँगको व्यापार सम्भव छैन । सिधा उडान नभएको कारण पनि पाकिस्तानसँग व्यापार निकै नै कठिन छ ।

तर,चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाकिस्तानबाट आयात बढ्नुको कारण भारत र पाकिस्तानबीचको बढ्दो तनाव हो । भारत नियन्त्रण कश्मिरमा धारा ३७० हटाएपछि भारत र पाकिस्तानबीच धेरै खाले सम्बन्ध बिच्छेद भएको छ । जसको असर व्यापारमा पनि परेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार तीन महिनामा सबैभन्दा बढी पाकिस्तानबाट छोकडा आएको छ ।

भन्सार विभागका अनुसार पाकिस्तानबाट तीन महिनाको अवधीमा ९० लाख ४३ हजार ३७० किलो बराबरको ७६ करोड ८२ लाख रुपैयाँ बराबरको छोकडा आयात भएको छ ।
नेपालमा भारत बाहेक युएईबाट पनि छोकडा आउने गर्छ । केही किलो छोकडा भारतबाट पनि आएको देखिन्छ ।

गत आर्थिक वर्षमा २८ लाख ६६ हजार ८५१ किलो छोकडा आयात भएको थियो । नेपालले वर्षमा खपत गर्नेभन्दा दोब्बरभन्दा पनि बढी छोकडा पाकिस्तानबाट मात्र तीन महिना आएको छ । गतवर्ष २४ करोड ४८ लाख रुपैयाँको मात्र छोकडा आएको थियो । यो वर्ष पाकिस्तानबाट मात्र ७६ करोड रुपैयाँको छोकडा आयात भएको छ ।
भारतीय व्यवसायीको समेत मिलोमतोमा नेपाली व्यापारीले पाकिस्तानबाट ल्याएको छोकडा भारत तर्फ निकासी गरेका छन् ।  जसको कारण छोकडाको आयात अत्याधिक बढेको हो । यसको वैध भन्दापनि अवैध निकासी बढी रहेको छ ।

पाकिस्तानसँगको कुल आयातमा छोकडाको हिस्सा मात्र ६६ प्रतिशत हिस्सा छोकडाको रहेको छ ।

छोकडा बाहेक पाकिस्तानबाट आउने वस्तुमा मकै दोस्रो वस्तुमा पर्छ । पाकिस्तानबाट तीन महिनामा ७३ लाख २५ हजार ९९१ किलो बराबरको २४ करोड ७४ लाख ९० हजार बराबरको मकै आयात भएको छ ।


क्लिकमान्डु