बैंकबाट ऋण लिएर घर किन्न अब सजिलो, ब्याजदर बढ्दा पनि किस्ता नबढ्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्न अब सजिलो हुने भएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै व्यक्तिगत घर किन्नको लागि  सजिलो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको हो । यसअघि यस्तो धितोको६०  प्रतिशतसम्म दिने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाले पहिलो पटक घर किनेको व्यक्तिको ऋणको ब्याजदर बढाएपनि मासिक किस्ता रकम भने नबढ्ने भएको छ । बढाउन नपाउने भएका छन् ।

जसले गर्दा बैंकको ऋण लिएर घर किन्ने उपभोक्तालाई राहत हुने भएको छ । केन्द्रीय बैंकको यो सुविधाबाट सहरी क्षेत्रका मध्यमवर्गका उपभोक्ताले राहत पाउने भएका छन् । ब्याजदर बढेपछि मासिक किस्ता रकम बढ्दा उपभोक्ताको आर्थिक अवस्था नै कमजोर हुने गरेको थियो । निर्देशिकाले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाएपछि ऋण दिने समय बढाउनुपर्ने हुन्छ ।

‘कर्जाको व्याजदर बृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ ।

यस्तै राष्ट्र बैंकले  ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुनुपर्ने  कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यस पूर्व घर/ अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नु पर्ने । तथा यस सुबिधा अन्तरगत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने व्यवस्था गरेको छ ।


क्लिकमान्डु