अर्थमन्त्रीले भने- नियम कानून परिवर्तन गरेर भए पनि विदेशी लगानी भित्र्याउँछौं



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा विदेशी लगानी ल्याउनका लागि राम्रो वातारण भएको भन्दै अझ बढी विदेशी लगानी ल्याउन आग्रह गरेका छन् ।

शुक्रबार राजधानीमा माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै विदेशी लगानी ल्याउने क्रममा कुनै नीति नियममा संशोधन आवश्यक परे संशोधन समेत गर्न सकिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्रीले माथिल्लो त्रिशुली १ परियोजनाका लागि यतिधेरै मानिसहरुले एकैपटक सम्झौता हुन लागेकोमा आफू निकै खुसी भएको बताए ।

कार्यक्रममा ५० अर्ब रुपैयाँ बराबरको ऋण सहयोगका लागि विभिन्न ९ वटा बैंकका १७ जना प्रतिनिधिले एकैसाथ हस्ताक्षर गरेका थिए ।

‘हामीले विगतमा पनि विदेशी लगानी ल्याउने सम्बन्धमा आवश्यक संशोधन गरिसकेका छौं, भविष्यमा समेत आवश्यक परेको खण्डमा संशोधनमा जान सकिन्छ’ उनले भने ।

मुलुकमा उर्जा उपभोगको संख्या बढीरहेको भन्दै मुलुकमा उत्पादन हुने विद्युतलाई अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यातका लागि समेत सरकार लागी परेको बताए ।

मुलुकका बैंक तथा वित्तीय संस्थाहरु समेत माथिल्लो त्रिशुल १ जस्ता दीर्घकालिन परियोजनामा लगानी गर्न सक्षम रहेको भन्दै यस्ता दीर्घकालिन योजनाहरु मुलुकको विकासका लागि आवश्यक रहेको बताए ।


क्लिकमान्डु