नबिल, जनता र सनराइज बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर
काठमाडौं । नबिल, जनता र सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा तीन वटा बैंकका ब्याजदर समान रहेको छ । जसमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।
त्यस्तै बचतमा भने बैंकको ब्याजदरमा भिन्नता छ । \
जनता बैंकले बचतमा ६.५० प्रतिशत, सनराइज बैंकले ६ र नबिल बैंकले बचतमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने जनाएका छन् । हाल नबिल बैंकको १७ वटा बचत खाता सञ्चालनमा छन् । जसमा अधिकतम ५.७५ र न्यूनतम ३.७५ प्रतिशत ब्याज रहेको छ ।
त्यस्तै सनराइज बैंकको बचतमा अधिकतम ६ र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १७ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
यता जनता बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसको बचतमा ब्याज ६.५० प्रतिशत छ ।
नबिल बैंकले असोज मसान्तसम्मको आधारदर पनि सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट अन्य प्रकारका कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ ।
त्यस्तै शैक्षिक धितोकर्जा १२.९४ अटो लोन १२.९४, विद्युतीय सवारी साधन खरिदका लागि ११.४४, हाउजिङ लोनमा १२.४४ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
सनराइज बैंकले पनि असोज मसान्तसम्मको आधारदर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधारदर ९.९७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १५.९७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट रियल स्टेट, घर कर्जा, शैक्षिक धितोकर्जा, कृषि कर्जा, सुन धितो राखेर कर्जा लिँदा १५.९७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
यता जनता बैंकले असोज मसान्तसम्मको आधार दर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तको आधार दर १०.१३ प्रतिशत छ । बैंकबाट ऋण लिनेले १६.१३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट ऋण लिँदा टर्म लोन, हाउजिङ लोन, अटो लोन, शैक्षिक धितो कर्जा, सेयर धितो कर्जा लिँदा बैंकमा १६.१३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।