जलविद्युत् कम्पनीको सेयर गिरावटले लगानीकर्ता प्रताडित, कुन कम्पनी कति घाटामा ?



काठमाडौं । निरन्तर सेयर बजारमा आएको गिरावटले सबैभन्दा बढी जलविद्युत् समूहका लगानीकर्ता प्रताडित भएका छन् ।

जलविद्युत् कम्पनीमा प्रतिकित्ता १०० रुपैयाँ लगानी गरेका लगानीकर्ताको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ५० रुपैयाँको हाराहारीमा आएको छ ।

तथ्यांक हेर्दा जलविद्युत् कम्पनीको सेयरमा लगानी बालुवामा पानी जस्तै भएको छ । यसले गर्दा लगानीको ५० प्रतिशत नै नोक्सानमा छ ।

अधिकांश कम्पनीले विद्युत् उत्पादन गरिरहेका छन् । केही आयोजना निर्माणको चरणमा छन् । केही साधारण सेयर बिक्री गर्ने तयारीमा छन् ।

अहिले १२ वटा जलविद्युत् कम्पनीको करिब ४ अर्ब रुपैयाँ बराबरको साधारण सेयर पाइप लाइनमा छ ।

आयोजना निर्माण सम्पन्न भएका कम्पनीले त विद्युत् उत्पादन गरेर नाफा आर्जन गरेर लाभांश दिन्छन भन्ने अपेक्षा गर्न सकिन्छ । उनीहरुको नाफा पनि बढ्दै जाला भन्ने आमरुपमा अनुमान पनि गर्न सकिन्छ ।

तर हाल सञ्चालनमा रहेका कम्पनीको विद्युत् बिक्रीबाट हुने नाफामा पनि गिरावट आएको छ भने जलविद्युत् कम्पनीको नाफामा पनि गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका जलविद्युत् कम्पनीको संख्या ३२ छ । तीमध्ये करिब दुई तिहाइ बढी कम्पनीको सेयर आधारभूत मूल्यको हाराहारीमा छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वटा जलविद्युत् कम्पनीको नाफा औसतमा १९.४९ प्रतिशतले बढेको छ ।

गत आवको पहिलो त्रैमासमा ६८ करोड २५ लाख २४ हजार १२२ रुपैयाँ नाफा कमाएका जलविद्युत् कम्पनीले चालु आवको पहिलो त्रैमासमा आइपुग्दा ८१ करोड ५६ लाख १ हजार ७४१ रुपैयाँ नाफा आर्जन गरेका छन् । पहिलो आवमा मनसुन पर्ने भएकाले यस त्रैमासमा बढी नाफा देखिनु स्वभाविक नै छ ।

सरसरर्ती हेर्दा अहिले जलविद्युत् कम्पनीको नाफा केही बढेको देखिन्छ । तर आमरुपमा हेर्दा भने लगानीकर्ताले अनुभव गर्ने गरी नाफा कमाउने अवस्था न्यून छ ।

२७ वटा जलविद्युत् कम्पनीमा ७ वटाको नाफा सन्तोषजनक छैन । दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा १३ लाख २७ हजार रुपैयाँ नोक्सानमा थियो । चालु आवको सोही अवधिमा आइपुग्दा यो नोक्सान १६९.१७ प्रतिशतले बढेर ३५ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा ३ करोड ६५ लाख ४४ हजार ५२६ रुपैयाँ नोक्सान थियो । चालु आवको सोही अवधिमा कम्पनी ८.५२ प्रतिशतले घटेर अझै पनि ३ करोड ३४ लाख ३० हजार ७३७ रुपैयाँ नोक्सानमै छ ।

माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा २ करोड २६ लाख ७ हजार ७४६ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा नोक्सान बढेर ४ करोड ५८ लाख ३० हजार ६६९ रुपैयाँ रहेको छ ।

बुटवल पावर कम्पनीको पनि नाफामा ४७ प्रतिशतले घटेको छ । अरुण काबेली ४ लाख ३९ हजार ३३३ रुपैयाँ नोक्सानमा रहेको छ ।

जलविद्युत कम्पनीहरुको विद्युत् बिक्रीको अवस्था पनि चिन्ताजनक नै छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ५० करोड २० लाख २७ हजार १३२ रुपैयाँ बराबरको विद्युत् बिक्री गरेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा सामान्य अर्थात् ५.४८ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४३ लाख ९२ हजार ७६० रुपैयाँ रहेको छ ।

यो अवधिमा कालिका पावर, खानिखोला, आँखुखोला, यूनियन हाइड्रो, राधी हाइड्रोको विद्युत् बिक्री घटेको छ । यस्ता आर्थिक सूचकले जलविद्युत् क्षेत्र लगानीका लागि अनाकर्षक क्षेत्रको रुपमा परिचित हुँदै गएको छ ।

कुनै समय सेयर लगानीकर्ताको प्रमुख आकर्षणको केन्द्र रहेको जलविद्युत् कम्पनीले संस्थागत सुधारमा समेत ध्यान दिन नसकेको गुनासो बेला बेलामा आउने गरेको छ ।

उक्त तथ्याङक चालु आवको पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरणबाट लिइएको
उक्त तथ्याङक चालु आवको पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरणबाट लिइएको


क्लिकमान्डु