अर्थमन्त्री डा. खतिवडाले भने- बैंकले कर्जा नदिए सिधै मलाई इमेल गर्नुहोस्, कारबाही गर्छु (भिडियाे)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् ।

बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।

‘यदि कुनै पनि बैंकले युवालाई कर्जा दिन नमाने अर्थमन्त्रालयमा अर्थमन्त्रीको हट मेलमा इमेल गर्नुहोस्, म कारबाही गर्छु,’ खतिवडाले भने ।

उनले युवाहरूलाई सरकारले स्वरोजगारका लागि हाल स्कुलस्तरबाट नै व्यव्सायिक सीप विकास र व्यसायिक शिक्षा सीटीइभीटीका कक्षा सञ्चालित भएको र त्यसमा सरकारले धेरै लगानी गरेको बताए ।

कर्जा प्रवाह गर्ने सस्थाले उद्यमीको जोखिम वहन गर्ने क्षमताको विकास गर्न तालिम दिनुपर्ने समेत उनको भनाइ छ ।

युवाहरूले बैंकबाट वा अरू कसैसँग सित्तैमा लिनुभन्दा जोखिम उठाएरै सहुलियतको कर्जा लिएर उद्यमी हुन जगरूक हुन आवश्यक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले बैकबाट लिएको कर्जामा खेलवाड नगरी आयमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई निर्देशन दिए ।

उनले बैंकले कर्जा जसरी भए पनि उठाउने हुँदा त्यसको सही सदुपयोग गरी बैंकको कर्जा तिर्न समेत युवाहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूले सहुलियतका कर्जा वितरण नगरेको भन्ने आक्षेप सही नभएको तर्क गर्दै कर्जा माग गर्ने युवा नै नआएको दाबी गरे ।

उनले आगामी दिनमा भने युवा परिषद् संघकोे सहकार्यमा रहेर सबै क्षेत्रमा कर्जा वितरण गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएको हुँदा बिना धितो ७ प्रकारका सहुलियतका कर्जादेखि बाहेक पनि नीति तथा कार्यक्रममा उल्लेख भएका सम्पूर्ण कार्यक्रममा वित्तीय सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु