पौने ३ अर्बको बिगो दाबीमा कृषि विकास बैंकका २ कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौंं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकबाट गैरकानूनी रुपमा पैसा निकाल्ने २ कर्मचारी सहित ८ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

सोमबार आयोगले ८ जना विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ विगोदाबी सहित मुद्दा दायर गरेको हो ।

२०७१ असोजदेखि २०७२ असारसम्म ९ महिनाको अवधिमा गैरकानूनी रुपमा बैंकको पैसा निकाल्ने २ जना कर्मचारीसहित ८ जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदावी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

कृषि विकास बैंक स्वयम्भू शाखा कार्यालयमा कार्यरत तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतम, बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

बैंकका शाखा केदारप्रसाद गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकालीको भन्दै उजुरी परेको थियो ।

उक्त उजुरीमा अनुसन्धान गर्दा बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी गौतमलाई दिएको पाइएको अख्तियारले जनाएको छ ।

उक्त दायित्व गम्भीरतापूर्वक बहन गर्न नसकेको, शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकहरुबाट विद्युतीय चोक राफसाफमार्फत् भुक्तानी लिने गरेको पाइएको छ ।

तेजबहादुर थापा नामक नक्कली व्यक्ती खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाएको जनाएको छ । गौंतमले योजनाबद्ध ढंगबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैकिङ सिस्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने र बैंकलाई हानी नोक्सानी पुर्याउने कार्य गरेको जनाएको छ । हाल गौतम हाल भारत गई बसेको आयोगले जनाएको छ ।

भारतमा बस्ने केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले सहयोग गरेको पाइएको छ । उनले भारतमा बस्न सहयोग गरेको र नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदाहुँदै अवैध रुपमा आर्जन गरेको रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको पाएको आयोगले जनाएको छ ।

साथै सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको प्रमाण फेला परेको छ ।

गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बिक्री गरी अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने गरेको आयोगको भनाइ छ ।

अवैध रुपमा आर्जन गरेको पैसाले गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोवारमा संलग्न रहेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउन समेत सहयोग गरेको उल्लेख छ ।

यस्तै सूर्यबहादुर लिम्बुले वसन्त राई भनी किर्ते नागरिकता बनाई केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउनसमेत सहयोग गरेको आयोगले जनाएको छ ।

कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार केदारप्रसाद गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरुको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको आयोगको ठहर छ ।


क्लिकमान्डु