श्रम स्वीकृति अब अनलाइनबाटै, भीडमा बस्न नपर्ने



काठमाडौं । बैदेशिक रोजगार विभागले यही मंसिर १५ गतेदेखि श्रम स्वीकृतिलाई अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ । जसका कारण वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई राहत हुने भएको छ ।

अहिले श्रम स्वीकृति लिनका लागि हरेक दिन श्रम कार्यालयमा भीड लाग्छ । राजधानी बाहिरबाट यहाँ आउने र श्रम स्वकृति लिन घण्टौ जाममा बस्नु पर्दा श्रमिकहरुले दुःख पाउँदै आएका थिए ।

तर विभागले अनलाइन प्रणालीमा जाने भनेपछि श्रमिकहरुलाई श्रम स्वीकृति लिनका लागि घण्टौ लाइनमा बस्नुपर्ने छैन ।

सेवाग्राहीले अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिनेछन र सोही समयमा कुन दिन पालो आउँछ त्यसै दिन मात्रै कार्यालय गए पुग्छ ।

उनीहरुले अनलाइनबाट आवेदन दिँदा कागजपत्र गल्ती भएमा वा अपुग भएमा मोबाइलको म्यासेजमार्फत् जानकारी गराइन्छ ।

सेवाग्राहीले अनलाइनबाट आवेदन दिँदा जुन ठाउँको कार्यालयमा पहिले पालो आउँछ त्यही गए पुग्ने विभागका महानिर्देशन भीष्मकुमार भुसालले जानकारी दिए ।

उनका अनुसार पाल्पाको सेवाग्राहीले अनलाइनबाट फारम भर्दा काठमाडौंमा छिटो पालो आए काठमाडौं आए भयो बुटवलमा पालो छिटो आए त्यहीबाट लिन सकिने भयो । यसले गर्दा सेवाग्राहीको समय बचत हुनुका साथै झन्झट पनि कम हुने भुसालको विश्वास छ ।

साथै विद्युतीय भुक्तानीका लागि समेत लामो समयदेखि प्राविधिक तयारी भइरहेको र प्रदायकसँग छिट्टै सम्झौता हुने तयारीमा रहेको भूसालले जानकारी दिए ।


क्लिकमान्डु