चालु आवमा सवा १६ अर्बको विदेशी लगानीको प्रतिबद्धता, पर्यटनमा सबैभन्दा धेरै



काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा सवा १६ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार ११ वटा देशबाट कुल १०५ वटा कम्पनीमार्फत् १६ अर्ब २२ करोड ५० लाख ८४ हजार रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको हो ।

गत साउन १ गतेदेखि मसिंर ५ गतेसम्म विभिन्न क्षेत्रमा गरी उक्त लगानीको प्रतिबद्धता आएको हो । जसमा विदेशी लगानीमध्ये सबैभन्दा धेरै चीनबाट ५ हजार ९५७ जना रोजगारी पाउनेछन् । चीनले विभिन्न क्षेत्रमा गरी ८८ वटा कम्पनीमा लगानी गर्न लागेको हो ।

चीनबाट कुल लगानीको सबैभन्दा धेरै प्रतिबद्धता ७८.४ प्रतिशत आएको छ । त्यस्तै दोस्रो नम्बरमा भारतबाट ५ वटा कम्पनीमार्फत् १४.५ प्रतिशत लगानीको प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

धेरै लगानीको प्रतिबद्धता आउने तेस्रो स्थानमा क्यानडाबाट एउटा कम्पनीका लागि ५० करोड रुपैयाँको प्रतिबद्धता आएको छ ।

पर्यटनमा सबैभन्दा धेरै लगानीको प्रतिबद्धता
यस अवधिमा विभिन्न क्षेत्रमध्ये सबैभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता पर्यटनको क्षेत्रमा आएको छ ।

पर्यटनमा मात्रै ६ अर्ब ५२ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । पर्यटनमा आएको लगानीको प्रतिबद्धता सबै चीनबाट आएको हो ।

त्यस्तै, यस अवधिमा सेवामुलक क्षेत्रमा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ, सूचना प्रविधिको क्षेत्रमा मात्रै २ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको हो ।

साथै, उत्पादनमुलक क्षेत्रमा ८० करोड ८ लाख रुपैयाँ र कृषि क्षेत्रमा ५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

कुन देशबाट कति लगानी ?


क्लिकमान्डु