परामर्शदाताको कारण डुइङ बिजनेश इन्डेक्समा सुधार नभएको राजस्व सचिव ढुंगानाको खुलासा



काठमाडौं । राजस्व सचिव शिशिरकुमार ढुंगानाले विश्व बैंकले प्रकाशित गर्ने डुइङ बिजनेश इन्डेक्समा नेपाल पछाडि पर्नुको कारण परामर्शदाताहरु रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघले कर दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा ढुंगानाले नेपालमा बसेर विश्व बैंकमा परामर्श दिने व्यक्तिको गलत सूचनाले पछाडि परेको बताए ।

‘हामीले सुधार गरेको कुराहरु विश्व बैंकसँग नपुग्ने अनुभव हामीले पछिल्लो एकवर्षमा गर्यौ,नेपालमा बस्ने र अदालतमा नगएका अधिवक्ताले दिने सूचनाको कारण गलत रिर्पोटिङ भएको छ,’ढुंगानाले भने ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले डुइङ बिजनेश इन्डेक्समा सुधार गर्नको लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्च स्तरिय समिति गठन भएको थियो ।
त्यो बेला ढुंगाना प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा थिए ।

आफुलाई त्यहाँ बस्दा पुरानो सूचना परामर्शदाताले दिदा विश्व बैंकमा गलत सन्देश पुगेको जानकारी पाएको बताए ।

‘जो व्यक्ति वकालत गर्न अदालत नपुगको १० वर्ष भयो त्यस्तो व्यक्तिले विश्व बैंकलाई गलत सूचना दिएको छ,भन्सारमा एक्जिम कोडको विषयमा पनि गलत सूचना गएको रहेछ,’ढुंगानाले भने ।

उनले आगामी वर्ष विश्व बैंकले निकाल्ने डुइङ बिजनेस इन्डेक्समा अझै सुधार गर्ने बताए ।

‘यो वर्ष नै हामीले सुधार गरेको सामाजिक सुरक्षा तथा करका विषयहरु समावेश भएको छैन, अर्को वर्ष यो कुरा उल्लेख हुने हुँदा हामीले अंक समेत सुधार गर्दै ८० औं स्थानमा पुग्छौ,’उनले भने ।

विश्व बैंकले हालै निकालेको डुइङ बिजनेस इन्डेक्समा नेपालले १६ स्थान सुधार गरेको छ ।अहिले नेपाल ९४ औं स्थानमा छ ।


क्लिकमान्डु