व्यवसाय विस्तारमा आक्रमक बन्यो ब्रिटिस कलेज, ७५ करोडमा किन्यो पुरानो ह्वाइट हाउस कलेज



काठमाडौं । एजुकेशन बिजनेशमा द ब्रिटिस कलेज आक्रमक रुपम प्रस्तुत भएको छ । राजधानीको थापाथलीस्थित ट्रेड टावरमा सञ्चालित ब्रिटिस कलेजले खुमलटारस्थित पुरानो ह्वाइट हाउस कलेजको ५० प्रतिशत सेयर किनेको हो ।

उक्त कलेज (पूरानो ह्वाइट हाउस) अहिले नाम परिर्वतन गरेर एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआईटीएम) भइरहेको छ ।

दशैंअघि नै कलेज खरिदबिक्री सम्झौता भइसकेको छ । सम्झौता अनुसार ब्रिटिस कलेजको समूहले जग्गा तथा भवनको मूल्यांकन र सञ्चालन भइरहेका प्लस टु र बीएचएमको गरी कम्पनीको ५० प्रतिशत सेयर ७५ करोडदेखि ८० करोड रुपैयाँमा किनबेच भएको हो ।

एआईटीएम कलेज अहिले नेपाल एजुकेशन फाउन्डेसन कन्सोर्टियम अफ कलेज, नेपाल अन्तर्गत सञ्चालित छ ।

फाउन्डेसन अन्तर्गत हाल ललितपुर हात्तिवनस्थित लिटिल एञ्जल्स कलेज, लाजिम्पाटस्थित जेभियर एकेडेमी र एआईटीएम गरी तीन वटा कलेज सञ्चालनमा छन् । फाउन्डेसनसँग ललितपुरस्थित काठमाडौं डनबस्को कलेजको समेत दुईतिहाइ सेयर स्वामित्व छ ।

फाउण्डेसनमा ४० वर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा लगानी गरिरहेका तथा पूर्व सभासद उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका पूर्व डीन प्रा. डा. श्रीरामभक्त माथे, प्रमोद प्रधान, यादव प्रधान र ई. गुणराज निरौला छन् ।

ह्वाइट हाउस कलेज यसरी भयो एआईटीएम

सन् २००१ मा दर्ता हुँदा कलेज ह्वाइट हाउस एजुकेशन नेटवर्कका नाममा दर्ता भएको थियो । तत्कालिन समयमा २ वटा समूह उमेश श्रेष्ठ र युवराज शर्माको समूहले स्थापना गरेको थियो । दुबै समूहको बराबरी सेयर थियो ।

उनीहरुले खुमलटारस्थित १५ रोपनी जग्गा खरिद गरे र कलेज स्थापना गरे । तत्कालिन समयमा ह्वाइट हाउस तत्कालिन अध्यक्ष नरेश लामाले आफ्नो जग्गा नेटवर्कलाई बिक्री गरेका थिए । सुरुमा जग्गाको मूल्यांकन प्रतिआना ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म गरी जग्गा खरिद गरिएको थियो ।

कलेजमा प्लस टु कलेज र स्नातक तहमा होटल म्यानेजमेन्ट र इन्जिनियरिङतर्फ सिभिल इन्जिनियरिङ र बायोटेक अध्यापन हुन्थ्यो । इन्जिनियरिङ संकाय पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धप्राप्त थिए ।

तर कलेजले लामो समयसम्म पनि सोचे अनुरुपको व्यापार गर्न सकेन । ठूलो लगानी भएर पनि कलेजमा विद्यार्थीको अभाव हुँदा बैंकको ऋण तिर्न समेत गाह्रो परेपछि युवराज शर्मासहितको ११ जनाको समूह सन् २०१२ मा बाहिरिने निर्णय गर्यो ।

युवराज शर्माको समूहमा रमशेकुमार सिलवाल, एसपी सिंह, नरेश लामा, पवन भीमसरिया, तेजबहादुर ढकाल, रामकुमार शर्मा, नरेन्द्र बज्राचार्य, सम्झना बस्न्यातलगायतका सदस्य थिए । कलेजले सोचे अनुसारको व्यापार नगरेपछि बैंकको ऋण मात्रै किन तिर्ने भन्दै समूह अलग हुने निर्णय गरेको थियो ।

तत्कालिन समयमा युवराज शर्माको समूहले ४५ करोड रुपैयाँ लिएर बाहिरिएको थियो । जसमध्ये बैंकको ऋण मात्रै २८ करोड रुपैयाँ रहेको एक जानकारले क्लिकमाण्डूलाई बताए । बैंकलाई ऋण तिरेर बाँकी रहेको १७ करोड रुपैयाँ समहका सदस्यले सेयर अनुसार बाँडफाँड गरेका थिए ।

शर्माको समूह बाहिरिएपछि त्यहाँ सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनमा सञ्चालित सिभिल इन्जिनियरि र बायो टेक पनि नयाँ बानेश्वर सारिएको थियो ।

युवराज शर्माको समूह बाहिरिएपछि उमेश श्रेष्ठको समूहको कलेजमा शतप्रतिशत स्वामित्व भएको थियो । तर कलेजले त्यसपछि पनि अपेक्षाकृत आम्दानी आर्जन गर्न नसकेपछि युवराज शर्माको समूहबाट लिएको ५० प्रतिशत सेयर बिक्री गर्ने र नयाँ ढंगले चलाउने तयारीमा उक्त समूह थियो ।

समूहले त्यसपछि थप १ रोपनी जग्गा खरिद गर्यो । कलेजमा २ वटा भवन थिए । तत्कालिन समयमा कलेजमा प्लस टुमा विज्ञान र व्यवस्थापन संकाय अध्यापन भइरहेको थियो भने स्नातक तहमा स्विट्जरल्याण्डको आईएमआई विश्वविद्यालयबाट मान्यताप्राप्त भइ बीएचएम सञ्चालन गरिरहेको थियो ।

कलेजले राम्रो आम्दानी गर्न नसकेपछि उमेश श्रेष्ठको समूहले भवन सहित सम्पूर्ण जग्गा बिक्री गर्ने मनसाय समेत बनाएको थियो । तत्कालिन समयमा डाक्टर बसन्त श्रेष्ठले सबै सम्पत्ति खरिद गरी अस्पताल बनाउने कुरा चलाएका थिए ।

सन् २०१२ मै जग्गा र भवनको मूल्यांकन गर्दा ५० करोड रुपैयाँमा बार्गेनिङ गरिएको थियो । तर बीचमा कुरा नमिलेपछि डिल तुहिएको थियो ।

त्यसपछि पनि उमेश श्रेष्ठको टिमले लगातार लगानीकर्ता खोजीरहेको थियो ।

यसै क्रममा द ब्रिटिस कलेजका सञ्चालकहरु त्यहाँ पुगेका थिए । उनीहरुले कलेजमा ५० प्रतिशत लिने र त्यहाँ ब्रिटिस विश्वविद्यालयको कोर्स सञ्चालन गर्ने योजना बनाए । उनीहरुले युवराज शर्माको समूहले बिक्री गरेको सेयर लिएका थिए ।

युवराज समूह बाहिरिएपछि…

ह्वाइट हाउस कलेजका सञ्चालक युवराज शर्मा खुमलटारस्थित कलेजबाट बाहिरिएपछि उनी नयाँ बानेश्वरमै सीमित भएका थिए । तर नयाँ बानेश्वरबाट समेत अहिले अलग भएर हिमालयन ह्वाइट हाउसका नाममा प्लस टु कलेज सञ्चालन गरिरहेका छन् ।

उनी बाहिरिएपछि स्नातक र स्नातकोत्तर तह अध्यापन गराउँदै आएको हिमालयन ह्वाइट हाउस कलेज गत बैशाखमा रामशाहपथमा सरेको छ ।

२५ वर्षका ५३ आना जग्गा लिजमा लिएर २० करोड लगानी गरी उक्त समूहले भवन निर्माण गरेको छ । जसमा ४ करोड रुपैयाँ ल्याव तथा अन्य भौतिक पूर्वाधारमा लगानी भएको एक लगानीकर्ताले जानकारी दिए ।

कलेजमा एमबीबीएस तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने नेम र इन्जिनियरिङका तयारी कक्षा सञ्चालन गर्ने पीईएको लगानी छ । जसमा उनीहरुले मासिक ५ लाख रुपैयाँ भाडा कायम गरी २५ वर्षका लागि लिजमा लिएका हुन् ।

कलेजमा अहिले खुमलटारबाट स्थानान्तरण गरिएका इन्जिनियरिङतर्फका सिलिभ र बायोटेक सञ्चालनमा छन् । त्यस्तै बीई कम्प्युटर, बीआईटी र बीई इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेशन कोर्स सञ्चालनको तयारी भइरहेको छ ।

त्यसतै, व्यवस्थापन संकायतर्फ पूर्वाञ्चल विश्वविद्यालयकै एमबीए, ईएमबीए, बीबीए, बीएचएम र बए लिवलर आर्टस सञ्चालन भइरहेको छ ।

तत्कालिन युवराज शर्माको समूहका सदस्यमध्ये युवराज शर्माले तीनकुनेमा प्लस टु चलाइरहेका छन भने एसपी सिंहल तीनकुने मै पेन्टागन कलेज सञ्चालन गरिरहेका छन् । रमेशकुमार सिलवाल गोल्डेनगेट इन्टरनेसनल कलेजका सीईओ हुन् । उनी अहिले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव समेत हुन् ।

त्यस्तै, तेजबहादुर ढकाल, नरेन्द्र बज्राचार्य र सम्झना बस्न्यातले अष्ट्रियाको साल्जवर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्सेजबाट सम्बन्ध लिइ ज्ञानेश्वरस्थित इन्टरनेशनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेज सञ्चालन गरिरहेका छन् ।


क्लिकमान्डु