राजस्व लक्ष्यको ग्याप ७४ अर्ब रुपैयाँ पुग्यो, आन्तरिक भ्याटमा लक्ष्यभन्दा बढी संकलन



काठमाडौं । सरकारलाई चालु आर्थिक वर्षमा राजस्वको लक्ष्य भेट्टाउन अब असम्भव नै हुने देखिएको छ ।

कात्तिक मसान्तसम्ममा ३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा २ खर्ब ५६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

कात्तिक मसान्तसम्ममा ७४ अर्ब रुपैयाँको राजस्व ग्याप भएको छ । आयात घटेपछि सरकारले राजस्वको लक्ष्य भेटाउन सकेको छैन ।

कात्तिक सम्ममा भन्सार तर्फ ७६ अर्ब ६८ करोड रुपैयाँ लक्ष्य निर्धारण भएकोमा ५१ अर्ब ७७ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

जसमा निर्यात गर्दा हुने वस्तुको भन्सार महशुल लक्ष्यभन्दा बढी हुने पनि आयातमा ग्याप छ । आयात हुने वस्तुबाट सरकारले कात्तिक मसान्तसम्ममा ६७ अर्ब लक्ष्य रहेकोमा ४६ अर्ब मात्र संकलन भएको छ ।

मूल्य अभिबृद्धि कर तर्फ १ खर्ब ८ अर्बको लक्ष्यमा ८४ अर्ब मात्र संकलन भएको छ । जसमा आयात हुने वस्तुबाट ७० अर्बको लक्ष्य राखिएकोमा ४० अर्ब संकलन भएको छ ।

आयात हुने वस्तुबाट संकलन हुने भ्याट लक्ष्य अनुसार संकलन नभएपनि आन्तरिक उत्पादनमा भने सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । ३७ अर्ब रुपैयाँको आन्तरिक उत्पादन तथा सेवाबाट भ्याटको लक्ष्य राखिएकोमा सरकारले ४३ अर्ब रुपैयाँ संकलन गरेको छ ।

आयकर तर्फ भने सरकारले राजस्वको लक्ष्य भेटाउन सकेको छैन । आयकरमा ५३ अर्ब रुपैयाँको लक्ष्य कात्तिक मसान्तसम्म राखिएकोमा ४५ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

अन्तशुल्क तर्फ पनि ५६ अर्ब रुपैयाँको लक्ष्य राखिएकोमा ४३ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

गैर कर तर्फ भने लक्ष्यको नजिक राजस्व संकलन भएको छ । २६ अर्ब रुपैयाँको लक्ष्यमा गैर कर तर्फ २४ अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले कात्तिक मसान्तसम्म ७५ प्रतिशत मात्र लक्ष्य पुरा गरेको छ ।

चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य छ । अबको ८ महिनामा ८ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्छ ।

कर प्रशासनका अधिकारीहरु चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पुरा नहुँने बताउँछन् । कर प्रशासकहरुले सार्वजनिक कार्यक्रममा नै राजस्वको लक्ष्य बढी राखिएको हुँदा त्यो पुरा नहुँने बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले भने आन्तरिक तर्फ लक्ष्यभन्दा बढी भ्याट संकलन भएकोलाई सफलताको रुपमा प्रस्तुत गरेका छन् ।

व्यवसायीहरु भने अघिल्लो वर्षको आयात भएको सामानको उत्पादनले यो वर्ष आन्तरिक तर्फ भ्याट लक्ष्यभन्दा बढी संकलन भएपनि अबको दिनमा त्यसमा कमी आउने बताउँछन् ।

‘औद्योगिक क्षेत्रलाई चाहिने कच्चा पदार्थको आयात घटेको छ, निर्माण क्षेत्रको बिक्रीमा कमी आइसकेको छ,सरकारले आन्तरिक उत्पादन तर्फको भ्याटको लक्ष्य यो वर्ष नै भेटाउन मुश्किल पर्न सक्छ,’एक व्यवसायीले भने ।

अर्थमन्त्री खतिवडाले भने लक्ष्य अनुसार राजस्व संकलन नभएको विषयमा आफु जबरजस्ती गरेर राजस्व संकलनको लक्ष्य पुरा गर्नेमा नभएको भन्ने प्रतिक्रिया दिने गरेका छन् ।

सरकारले बजेट निर्माण गर्दा प्रमुख स्रोतका रुपमा राजस्वलाई राख्ने गर्छ । राजस्व संकलन लक्ष्य अनुसार संकलन नभएमा सरकारले चालु खर्च चलाउनको लागि पनि ऋण लिनुपर्ने अवस्था आउन सक्ने अर्थविद्हरु बताउँछन् ।


क्लिकमान्डु