सनराइज बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने
काठमाडौं । सनराइज बैंकले ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ ऋणपत्र बिक्री गर्ने भएको छ ।
बैंकले बिक्री गर्न लागेको ३ अर्ब रुपैयाँको ३० लाख कित्ता जसमध्ये १२ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ६० हजार कित्ता पाउनेछन् । बाँकी रहेको १८ लाख कित्ता बैंक आफैले विभिन्न संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
बैंकका अनुसार ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
प्रति कित्ता १ हजार रुपैयाँ दरले आवेदन दिन पाइने छ । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रलाई केयर नेपालले ‘केयर एनपी ए माइनस’ अंक दिएको छ ।
ऋणपत्रमा छिटोमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा बिक्री नभएमा मंसिर १९ गतेसम्म आवेदन दिन पाइने छ ।
ऋणपत्रमा आवेदन दिन सिद्धार्थ क्यापिटल नारायाणचौर, सनराइज बैंकका सबै शाखा तथा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सकिनेछ ।