अर्थमन्त्री खतिवडा स्वदेश फर्किए, विदेशमा रहँदा के-के गरे ?

क्लिकमान्डु २०७६ कार्तिक ६ गते १८:०५ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी भइ स्वदेश फर्किएका छन् ।

अर्थमन्त्री खतिवडाले विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनाव, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलता र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवम् अनिश्चितताको विषयमा छलफल गरेका थिए ।

विश्व वैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनुपर्नेमा जोड दिएका थिए ।

विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकको संयुक्त बैठकमा भाग लिदै मन्त्री खतिवडाले त्यस क्षेत्रको आर्थिक क्षेत्रमा देखिएको शिथिलता, बढ्दो ऋण र त्यसको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयमा छलफल गरेका थिए ।

भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताएका थिए ।

‘दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको छ, यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्नेछ’ उनले भने ।

साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको धारणा उनले राखेका थिए ।

यस्तै, विश्व बैंकका उपाध्यक्ष, दक्षिण एसियाका अन्य मन्त्री समेत सहभागी रहेको सडक सुरक्षा सम्बन्धी कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनु पर्ने डिजाइनिङ तथा इन्जिनियरिङ पक्ष, त्यहाँको भौगोलिक अवस्था, सवारी साधनको भारवहन क्षमता तथा त्यसको परिक्षण, सडक सुरक्षाको विषयमा सूचना प्रवाहको स्थिति एवम् सवारी साधन उपयोगकर्ताको ज्ञानको कमी, यातायात क्षेत्रको नियमन तथा त्यसको कार्यान्वयन र दुर्घटना पश्चातको उपचार गर्ने क्षमता जस्ता विषयमा ध्यान पु¥याउनुपर्ने बताए ।

साथै अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एशिया ग्रोथ आउटलुक बैठकको छलफलमा भाग लिख्दै उनले विश्वव्यापी बृद्धिमा अनिश्चितताका बावजुद पनि दक्षिण एसिया तिव्र गतिमा वृद्धि गर्ने क्षेत्रमा स्थापित भएको बताउंदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन स्वस्थ जनशक्तिको विकास, थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको उल्लेख गरेका छन् ।

वासिङटन भ्रमणको अवधिमा मिलिनियम च्यालेन्ज कर्पोरेशनका उच्च अधिकारी र अर्थमन्त्रीबीच द्विपक्षीय बैठक गरी यसको हालसम्मको प्रगतिको अवस्था तथा यसको कार्यान्वयन पक्षको समीक्षा गरिएको थियो ।

विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हाट्र्विक सेफर, चिफ इकोनोमिस्ट तथा नेपालको सहायता कार्यक्रम हेर्ने उच्च तहका पदाधिकारीहरु समेत सम्मिलित बैठकमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान विकासका चुनौतिहरु तथा अवसरको विषयमा चर्चा गर्दै बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा गरेका थिए ।

सो अवसरमा ऋण पोर्टफोलियो कार्यान्वयनको गुणस्तर बढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनुपर्ने, उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र सघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको छ ।

त्यस्तै क्षेत्रगत नीति सुधारमा आधारित वजेट सहायता परिचालन बढाउन पर्यटन, उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समुहले काम सुरु गर्ने सम्झदारी भएको थियो ।

अर्थमन्त्री खतिवडाले विश्व बैंकले नेपालको प्राथमिकता अनुसार केही वर्षभित्रमा चरम गरिबी हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्याइ गुणस्तरीय जीवनयापन गर्न सक्ने बनाउन तथा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति नभईञ्जेलसम्म तथा त्यसपछि पनि त्यसको सहुलियतपूर्ण ऋणको निरन्तरता हुनुपर्ने, भूकम्पपछिको पुर्ननिर्माणको कार्यलाई सम्पन्न गर्न बैंकको सहायता राशीमा उल्लेख्नीय बृद्धि आवश्यक रहेको उल्लेख गरेका थिए ।

उनले बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण तिर्ने क्षमता बढाउन दिगो प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाएका छन् ।

बैंठकमा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गतवर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रसंशा गर्दै अझै धेरै साझेदारी गर्न बाँकी रहेको बताए ।

भ्रमणकै क्रममा अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष समेतका उच्च पदाधिकारीहरुको बैठकमा नेपालमा पर्यटन, सहरी पुर्वाधार विकास, माथिल्लो त्रिशुली १, माथिल्लो अरुण, कावेलीलगायतका परियोजनाहरुमा लगानीको संभावनाबारे चर्चा गर्दै केही स्टार्टअप बिजनेसमा इक्विटीमा सहभागिता, वित्तिय संस्थाहरुमा ऋण प्रवाह गर्ने विषय तथा स्थानिय मुद्रामा वण्ड जारी गर्ने विषयमा छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालमा निजी क्षेत्रमार्फत् जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यस्तै, एसियाली विकास बैंकका नेपाल हेर्ने तथा निजी क्षेत्र हेर्ने दुई उपाध्यक्ष समेतका उच्च पदाधिकारीसँगको भेटमा उनलेले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समीक्षा गर्दै मेलम्ची खानेपानी, दुधकोशी जलबिद्युत आयोजनाको विकास, पूर्व पश्चिम राजमार्गको स्तरोन्नती तथा अन्य सडक आयोजनाहरुको निर्माणलगायत आगामी वर्षहरुमा बैंकसँगको साझेदारी विस्तारका सँभावना र नेपाल सरकारको विकास प्राथमिकताको बारेमा छलफल भएको थियो । जसमा अर्थमन्त्रीसंग बेलायती सहयोग संस्थाका स्थायी सचिवले भेट गरी द्विपक्षीय सहयोग बारे समीक्षा भएको थियो ।

अर्थमन्त्री डा. खतिवडाले निजी क्षेत्रको केही लगानीकर्तासँग समेत सूचना प्रविधि, ई–कमर्स, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने सम्भावना बारेमा छलफल गरेका थिए । उनले केही लगानीकर्ताहरुसंग भेटघाट गरी नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स