देशको भुक्तानी सन्तुलन ९ अर्बले धनात्मक



काठमाडौं । देशको शोधनान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा शोधान्तर स्थिति बचतमा रहेको हो ।

यता साउनमा पनि शोधनान्तर स्थिति सुधार अवस्थामा नै रहेको छ । भदौमा ८ अर्ब ८३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खाता घाटा २१ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा १९ करोड २५ लाख कायम भएको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २३ करोड रहेको थियो ।


क्लिकमान्डु