बाबु र छोरा मिलेर ८ करोड बढी ठगे




काठमाडौँ । सुनचाँदी कारोबारमा भन्सार छलेर चोरी पैठारी गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबु छोराविरुद्ध राजस्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ ।

भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल बर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध विभागले ८ करोड ६ लाख रुपैयाँ बिगो कायम हुने गरी कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

प्रतिवादी अतुलले बुबा सुशीलकुमारको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार छलेर चोरी पैठारी गरी नेपाल ल्याएको सुनचाँदी काठमाडौँबाट अवैधरुपमा बिना बिल बिजक खरिद तथा बिक्री वितरण गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।

उक्त कारोबारबाट प्राप्त भएको रकम अतुलको बैंक खातामा जम्मा गरी शिवम् सुनचाँदी पसलको कारोबार न्यून देखाइ आयकरसमेत छली भन्सार चोरी पैठारी गरी भन्सार राजस्व तथा आयकर चुहावट गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

विभागले ८ करोड ५ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी उक्त बिगो असुल उपर गराई दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावीसहित सोमबार मुद्दा दर्ता गरेको जनाएको छ ।

अतुलसँग भारतबाट नेपाल आउँदै गर्दा बरामद भएको ३ लाख भारतीय रुपैयाँ र २५ हजार रुपैयाँ फेला परेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐनविपरीत कसुरसमेत गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु