घरजग्गा व्यवसाय ओरालो लाग्यो, मूल्य भने घटेन



काठमाडौं । घरजग्गा व्यवसायमा मन्दीको असर देखिन थालेको छ । मालपोत विभागका अनुसार देशभर नै घरजग्गाको कारोबार ओरालो लागेको छ ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजग्गाको कारोबार ओरालो लागेको हो ।

मालपोत कार्यालयले देशभरबाट साउन महिनामा ६२ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको थियो । भदौं र असोज महिनामा पूँजीगत लाभकर समेत घटेको छ ।

भदौ महिनामा २९ करोड ५९ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ भने असोज महिनामा १२ करोड १८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । असोजको तथ्यांक भने सबै कार्यालयको अध्यावधिक हुन बाँकी रहेको छ ।

यस्तै घरजग्गा रजिष्ट्रेशन तर्फ साउन महिनामा १ अर्ब रुपैयाँ संकलन भएको छ भने भदौ महिनामा ६५ करोड र असोज महिनामा २२ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्षदेखि पूँजीगत लाभकरको व्यवस्था परिवर्तन गरेर थैली बुझाएमा हुने व्यवस्था सरकारले गरेको थियो ।

घरजग्गामा संलग्न व्यवसायीहरु घरजग्गाको कारोबारमा सुस्तता आएको बताउँछन् ।

‘मूल्य खासै नघटेपनि घरजग्गा व्यवसाय तीन महिनामा ओरालो लागेको छ,मंसिरदेखि बढ्ने अपेक्षा छ,’घरजग्गा व्यवसायमा संलग्न एक व्यवसायीले भने ।

दशैं र तिहारको समयमा खासै कारोबार नहुँने र त्यसपछि कारोबार बढ्ने अपेक्षा सरकारको छ ।

काठमाडौं उपत्यकामा पनि घरजग्गाको कारोबारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खासै रौनक देखिएको छैन ।

मूल्य स्थिर जस्तो देखिएपनि खरिदकर्ता नहुँदा घरजग्गा व्यवसाय बढ्न नसकेको हो । सरकारले जग्गा प्लटिङको नियममा समेत कानून मार्फत परिवर्तन गरेको छ । संघीय संसद्बाट पारित भएको विधेयकले कृषियोग्य जमिनमा प्लटिङ गर्न नदिने कानून ल्याएको छ । यद्यपी कानूनी छिद्र प्रयोग गरेर प्लटिङ भने हुने गरेको छ ।

साउन महिनामा सामान्यजस्तो कारोबार भएपनि भदौं र असोज महिनामा कारोबार नभएको अनुभव घरजग्गा व्यवसायीहरुको रहेको छ ।

असोजमा दशैंको कारण घरजग्गा कारोबार घटेको हो । कात्तिकमा भने खासै नबढ्ने अनुमान घरजग्गा व्यवसायीको छ ।

बैंकिङ क्षेत्रमा ऋण सहजै ऋण दिने रकमको अभाव छ । घरजग्गाको कारोबार बढाउन योगदान गर्ने अन्य व्यापारका क्षेत्रहरुको कारोबार समेत घटेको हुँदा घरजग्गा व्यवसाय बढ्न नसकेको हो ।


क्लिकमान्डु