कुलमान जुट्दै आफैले पढेको विद्यालयको भौतिक पूर्वाधार निर्माणमा



रामेछाप । सरकारले नमूना विद्यालय घाेषणा गरेकाे रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविलाई नमूना विद्यालय बनाउन भूतपूर्व विद्यार्थीले सक्रियता देखाएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले समेत अध्ययन गरेको विद्यालयमा पूर्व विद्यार्थीहरुले नमूना विद्यालय बनाउन भन्दै भूतपूर्व विद्यार्थी समाज गठन गर्न लागेका हुन् ।

विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारलगायतका सामाजिक काम गर्ने उद्देश्यसहित पूर्व विद्यार्थी समाज गठन गरिन लागेको हो । भोलि बुधबार भक्तपुरको सानोठिमी क्याम्पसमा पूर्व विद्यार्थीहको भेला भइ समाज गठन हुनेछ ।

२०१४ सालमा स्थापना भएको कुशेश्वर माविबाट हालसम्म करिब १८ सय विद्यार्थी अध्ययन गरिसकेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सांसद, बैंकर्स, डाक्टर, इन्जिनियर, पत्रकार, उद्योग व्यवसायी, राष्ट्रसेवक कर्मचारी, राजनीतिज्ञसम्म बनेका छन् ।

‘पूर्व विद्यार्थीको सीप र क्षमता विद्यालयको विकासका लागि समाज गठन गर्न लागेका हौं’, विद्यालयका प्रअ बलदेव धामीले भने ‘पूर्व विद्यार्थीको सुझाव लिएर विद्यालयको शैक्षिक र भौतिक विकासको लागि गुरु योजना निर्माण गछौं ।’

तत्कालिन शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा विं स. २०१४ साल असार ३ गते विद्यालयको स्थापना भएको थियो । उज्यालो नेपालका अभियन्ता समेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, पूर्व सभासद शिवबहादुर खड्का कुशेश्वर माविका पूर्व विद्यार्थी हुन् ।


क्लिकमान्डु