अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री खतिवडाले गरे नेपाली सेयर बजारको चर्चा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय वित्त निगमलाई निजी क्षेत्र मार्फत जलविद्युतका साथै पर्यटन, कृषि, सहरी पुर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा मन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन ।

उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउंदै निजी क्षेत्रलाई थप सबल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिए । मन्त्री डा. अतिवडाले पूर्वाधार विकासको लागि मध्यम तथा दिर्घकालिन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराएका छन् ।

उनले नेपालको पूँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताए । मन्त्री खतिवडाले भने ‘ यसमा बचत र लगानी बीचको ठुलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको छ ।’

डा. खतिवडाले दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउँदै सडक सुरक्षाका लागि सडक निर्माण भन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ्ग पक्ष, सवारी साधनको भार वहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारी साधनको परिक्षण र यातायात क्षेत्रको नियमन जस्ता विषयमा ध्यान पुर्याउनुपर्ने उल्लेख गरे ।

नेपालमा लगानी गर्दा जोखिमको यथार्थ विष्लेशण गर्न सहयोग पुर्याउन र लगानीमा जोखिम वापत बढि प्रिमियम नलिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिट रेटिङ्ग गर्ने कार्य सुरुगरीसकेको जानकारी गराए । ।

त्यस्तै विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रम बजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने संभावित प्रतिकुलता सामना गर्नुपर्ने तर्फ सजग रहेको जानकारी दिए ।

अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तर्राष्ट्रिय तहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा जोड दिए ।


क्लिकमान्डु