नबिल बैंकले तिहार लगत्तै लाभांश दिने, बोनस र नगदमा के आउला ? यस कारण भयो ढिलाई



काठमाडौं । नबिल बैंकले तिहार लगत्तै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ ।

विगतमा पहिलो त्रैमासिक अगाडि नै लाभांश घोषणा गरेर सेयरधनीलाई लाभांश समेत बाड्ने नबिल बैंकले यो पटक भने लाभांश घोषणा गर्नमा ढिलाई गरेको छ । नबिल बैंक निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंक हो । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य नबिल बैंकको रहेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले वार्षिक प्रतिवेदन स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको र राष्ट्र बैंकबाट स्वीकृति हुनासाथ अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बोनस या नगद भन्ने विषय बैंकको आवश्यक्ताको आधारमा निर्धारण हुने बताए ।

उनले राष्ट्र बैंकले अध्यक्षको उमेरमा लगाएको हदबन्दी र त्यसपछि भएको मुद्दाको कारण पनि लाभांश घोषणामा ढिलाई भएको बताए । राष्ट्र बैंकले निर्देशिका मार्फत तोकेको संचालकको उमेरहदको कारण नबिलका अध्यक्ष शम्भु पौड्यालले अवकास पाएका थिए । तर,सर्बोच्चले अन्तरिम आदेश दिएर राष्ट्र बैंकको निर्देशिका उल्टाइदिएको थियो ।

बैंकले गत वर्ष ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो । एनएफआरएस प्रतिवेदन अनुसार सेयरधनीलाई बाड्न मिल्ने नाफा ३ अर्ब १८ अर्ब रुपैयाँ नाफा गरेको थियो । बैंकको असार मसान्तसम्ममा ९ अर्ब १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले सेयरधनीलाई ३५.२९ प्रतिशत लाभांश बाड्न मिल्ने अघिल्लो वर्षमा नाफा गरेको थियो । यद्यपी राष्ट्र बैंकबाट त्यो स्वीकृति हुँदा फरक भने पर्छ ।

नबिल बैंकको पूँजीकोष अनुपात १२.७१ प्रतिशत छ । राष्ट्र बैंकले २ प्रतिशत थप बफर क्यापिटल राख्नुपर्ने भनेको व्यवस्थाभन्दा यो कम हो । नबिल बैंकको लाभांशको इतिहास केलाउने हो उसले बोनस सेयरभन्दा नगद लाभांश बढी दिन्छ । अघिल्लो वर्ष नबिल बैंकले १२ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिएको थियो । यो पटक पनि नबिल बैंकले अघिल्लो वर्षको हाराहारीमा नै बोनस सेयर दिन सक्ने सम्भावना छ ।


क्लिकमान्डु