भारतका लागि टेलिकमले ल्यायो ‘डाटा रोमिङ प्याक’



नेपाल टेलिकमले ०७६ कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

टेलिकमले सार्वजनिक गरेको डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराएकोे छ ।

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा नेपा टेलिकम मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु नेपाल टेलिकम एप मार्फत अथवा *1415#डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।


क्लिकमान्डु