पञ्चांग निर्णायक समितिले भाइटिकाको साइत सार्वजनिक गर्यो



काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ ।

कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटिकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

कात्तिक १२ गते मंगलबार दिनभर टिका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहुर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

यसवर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममतरुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कात्तिक १२ गते भाइटिकाकै दिन यसवर्ष नेपाल सम्वतअनुसार नयाँवर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँवर्ष मनाउनुपर्ने शास्त्रीय बचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए ।

यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । रासस


क्लिकमान्डु