नेत्र विक्रम चन्द विप्लवका दाजु पक्राउ, चन्द समूहलाई ठूलो धक्का



काठमाडौं । राज्य विरुद्ध सशस्त्र गतिविधी गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका मध्यपश्चिम ब्यूरो कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विषेश टोली र प्रदेश नम्बर ५ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले आज राति चन्दसहित २१ नेता तथा कार्यकर्तालाई दाङबाट पक्राउ गरेको हो ।

चन्द्रबहादुर नेत्र बिक्रम चन्दका दाजु समेत हुन् ।

प्रहरीले उनीहरुबाट नगद तथा अन्य सामग्री समेत बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा राप्ती ब्यूरो इन्चार्ज सुभास बाठा मगर, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत रहेको जिल्ला प्रहरी दाङले पुष्टि गरेको छ ।

काभ्रेबाट तत्कालिन मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली र काठमाडौंबाट काठमाडौं इन्चार्ज माइला लामा पक्राउ परेपछि प्रहरीले पाएको यो अर्को सफलता हो ।

नेता तथा कार्यकर्ता धमाधम पक्राउ परेपछि चन्द समूह करिब–करिब रक्षात्मक अवस्थामा पुगेको छ । प्रहरीका अनुसार हालसम्म सो समूहका ५०० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

विप्लवकै दाजु पक्राउ परेपछि चन्द समूहलाई सबैभन्दा ठूलो घाटा लागेको छ । अधिकाशं जिल्लाका जिल्ला इन्चार्ज, सचिव तथा नेता कार्यकर्ता पक्राउ परेपछि कुनै पनि गतिविधि गर्न नसक्ने अवस्थामा पुगेको चन्द समूहलाई राजनीति मूलधारमा ल्याउन प्रहरीलाई प्राप्त भएको यो अर्को सफलता हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङ ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ । विशेष सुराकीका आधारमा तीन दिन पहिलेदेखि नै पश्चिम दाङमा विशेष गतिविधि गरिरहेको जानकारी प्राप्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।


क्लिकमान्डु