पहिलो २ महिनामा अन्तर्राष्ट्रिय व्यापारमा सुधार, निर्यात २५.८७ प्रतिशतले वृद्धि




काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालको निर्यात बजार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको साउन र भदौ महिनामा नेपालबाट कूल १४ अर्ब ६९ करोड ९० लाख २० हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरिएको थियो भने चालु आर्थिक वर्षको पहिलो २ महिनामा कूल १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षमा विदेशी वस्तु तथा सेवा आयात भने घटेको छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो २ महिनाको वस्तु आयातको तुलनामा चालु आर्थिक वर्षको २ महिनामा आयात १.२२ प्रतिशतले घटेको हो ।

यो आर्थिक वर्षको २ महिनामा कुल २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यसैगरी २ महिनामा समग्रमा नेपालको व्यापार घाटा ३.०५ प्रतिशतले घटेर २ खर्ब ११ अर्ब १८ लाख ४२ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको पहिलो २ महिनामा व्यापार घाटा २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, आयात–निर्यात रेसियो गत वर्षमा १५.८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा १२.४ प्रतिशत छ । यो गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा २१.५४ प्रतिशतले घटेको हो ।


क्लिकमान्डु