मुकेश अम्बानी भारतको सबैभन्दा धनी, पतञ्जलीका उत्पादन बिक्री नहुँदा आचार्य बालकृष्णको सम्पत्ति घट्यो



मुकेश अम्बानी यस वर्ष पनि भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् । लगातार १२ वर्षदेखि उनी धनीको सूचीमा पहिलो नम्बरमा छन् ।

नरेन्द्र मोदी नेतृत्वको भारतको आर्थिक वृद्धिदर ६ वर्षमा ५ प्रतिशतमा झरेको छ । उपभोक्ताको घट्दो बजार, अटोमोबाइलको उत्पादनमा कमी आएसँगै अर्थतन्त्र कमजोर बनेको थियो । अर्थतन्त्र बढाउनका लागि सरकारले गत सेप्टेम्बरमा कर्पोरेट कर ३० प्रतिशतबाट झारेर २२ प्रतिशत बनाएको थियो ।

मुलुकको अर्थतन्त्र कमजोर हुँदा पनि भारतीय व्यापारी मुकेश अम्बानी भने धनीको सूचीमा पहिलो नम्बरमा छ । गत वर्षको तुलनामा यसवर्ष उनले ४.१ बिलियन अमेरिकी डलर सम्पत्ति थप जोडेका छन् । तीन वर्ष पुरानो उनले सुरु गरेको टेलिकम कम्पनी जियोको आक्रमक बजार र ३४० मिलियन ग्राहकले उनको सम्पत्ति बढाएको उल्लेख छ ।

त्यस्तै दोस्रो नम्बरमा रहेका पूर्वाधार टाइकुन गौतम अदानीले पनि धनीको सूचीमा ८ स्थानबाट एकैपटक दोस्रो स्थानमा उक्लिएका छन् । ९ वर्षको पर्खाइपछि अदानीले अष्ट्रेलियन कोइला खानीमा काम सुरु गर्ने अनुमति गत जुन महिनामा पाएका थिए । गुजराताका यी व्यवसायी विमानस्थलदेखि डाटा सेन्टरसम्म व्यवसाय फैलाएका छन् ।
त्यस्तै, ४ बिलियन सम्पत्ति जोडेका बैंकर उदय कोटाक पहिलो पटक भारतको धनीहरुको सूचीमा टप पाँचमा परेका छन् । करको दर कम हुँदा कोटाक महिन्द्रा बैंकको नाफा बढ्ने अनुमान समेत गरिएको छ ।

भारतीय धनीहरुको सूचीमा यस वर्ष ६ नयाँ अनुहार थपिएका छन् । जसमा ३८ वर्षे बायुज रविन्द्रन, मनोहर लाल एन्ड मधुसुदन अग्रवाल, राजेश मेहरा, सम्पर्दा सिंह छन् ।
पतञ्जलीका नेपाली मूलका आचार्य बालकृष्णको सम्पत्ति पनि गत वर्षको तुलनामा घटेको छ । पतञ्जलीको बिक्रीमा दुई तिहाइले कमी आएसँगै सम्पत्ति पनि घटेको हो । उनको सम्पत्ति अहिले घटेर १.४७ बिलियन अमेरिकी डलर पुगेको छ ।


क्लिकमान्डु