नेपालमा लगानी बढाउन एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरुलाई विदेशमा आर्जन गरेको सीप र पूँजीलाई नेपालमा ल्याउनका लागि आग्रह गरेकी छन् ।

मंगलबार गैर आवासीय नेपाली संघ (एनआरएनए)को राजधानीमा सुरु नवौं विश्वसम्मेलन उद्घाटन गर्दै राष्ट्रपतिले अहिले मुलुकमा राजनीतिक स्थिरता भएको भन्दै लगानी ल्याउन आग्रह गरिन् ।

भण्डारीले एनआरएनएहरुले नेपालमा गरेको लगानीको मूल्यांकन हुनुपर्ने बताउँदै पूर्वाधार र लोककल्याणकारी क्षेत्रमा गरेको लगानीको प्रसंशा समेत गरिन् ।

नेपालले आगामी वर्ष भ्रमण वर्ष २०२० मनाउन लागेको बताउँदै यसमा सहयोग गर्न आग्रह समेत गरिन् ।

मुलुकको राष्ट्रिय आकांक्ष पूरा गर्नका लागि एनआरएनएहरुको भूमिका निकै महत्वपूर्ण हुने समेत बताइन् । उनले एनआरएनएहरुलाई पूर्वाधार र कृषिको आधुनिकिकरणमा साझा उद्देश्य हुनुपर्ने समेत बताइन् । उनले यी क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्न समेत आग्रह गरिन् ।

एनआरएनएहरुले नेपालमा लगानी ल्याउनका लागि व्यक्तिगत र सामूहिक लगानी ल्याउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले नेपाली कला संस्कृतिको विश्वमा प्रबद्र्धन गर्न समेत आग्रह गरिन् ।


क्लिकमान्डु