पूर्व अध्यक्ष जीवा लामिछानेको आग्रह- कम्तीमा अध्यक्ष पदमा सहमति गरौं
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष जीवा लामिछानेले कम्तीमा अध्यक्ष पदका लागि सहमति जुटाउन आग्रह गरेका छन् ।
सोमबार क्लिकमाण्डूसँग कुरा गर्दै लामिछानेले सकेसम्म सहमति मै नयाँ कार्यसमिति चयन गर्ने र त्यो सम्भव नभएको अवस्थामा अध्यक्ष पदमा मात्रै भए पनि सहमति गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘सहमति नै भएन भने पनि हामीसँग लोकतान्तिक प्रणाली छ, स्वस्थ प्रतिपष्र्धामा जान सकिन्छ ।’
पछिल्लो पटक विश्व सम्मेलनमा राजधानी हावी भएकोमा असन्तुष्टि जनाउँदै यस्तो संस्थामा राजनीतिक रंग देखिनु दुखद् भएको बताए ।
उनले भने, ‘पहिले र अहिलेमा के फरक छ भने यो संस्था सानो स्केलमा थियो । केही देशमा मात्रै सञ्जाल विस्तार भएको थियो । अहिले विश्वव्यापी रुपमा ८२ देशमा हाम्रो शाखा विस्तार भएको छ । यो संस्थासँग आबद्ध भएका धेरै साथीहरु आउनु भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
स्वयमसेवकका रुपमा काम गर्नुपर्ने संस्थामा यतिधेरै मानिसहरुले काम गर्ने इच्छा देखाएको भन्दै पूर्व अध्यक्षका हिसाबले मैले कम्तीमा अध्यक्ष पदमा सहमति होस भन्ने चाहना रहेको स्पष्ट पारे ।
‘यसपटक अलिक बढी नै राजनीति हावी भयो । अहिले यसलाई राजनीतिक रंग दिने प्रयास भएको छ । यसलाई हामीले निस्तेज पार्नुपर्छ’ उनले भने ।
उनले दोस्रो पुस्तालाई पनि यस संघमा ल्याउनुपर्ने बताए ।
‘हामी पहिले जेनेसेरन हो । अहिले दोस्रो पुस्ता पनि तयार हुँदैछ । मेरा पनि २ जना छोराहरु छन् । पहिलो पुस्ताको जरा राम्रोसँग गाडिएको छ । हामीले सपना पनि यहीँको देख्छौं’ उनले भने ।
हाम्रो चाहना पनि उनीहरुलाई आफ्नो पुर्खाको देशमै ल्याउने नै हो । लगाव र सुझाव रहोस भन्ने नै हो । मेरा छोराहरुको हकमा कुरा गर्दाखेरी उनीहरु आइरहेका हुन्छन् । लगाव र झुकाव दुबै छ ।