ठूलो महत्वकांक्षा राख्दा सी भ्रमणमा चुकेको अवसर



२३ वर्षपछि नेपालमा भएको चिनियाँ राष्ट्रपतिको भ्रमणले उच्च महत्व पाउनु स्वभाविक नै हो । फोब्र्सले जारी गरेको पछिल्लो संसारका सबैभन्दा शक्तिशाली व्यक्तिको सूचिमा राष्ट्रपति सी चिनफिङ पहिलो नम्बरमा छन् ।

राष्ट्रपति सी जस्तो व्यक्तिले नेपाल भ्रमण गर्नु नेपालका लागि गर्व गर्न लायक विषय पनि हो । नेपाल आउनु अघि भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय वार्ता गरेर आएका सी चिनपिङको नेपाल भ्रमण अन्तर्राष्ट्रिय समूदायले समेत उच्च महत्वका साथ हेरेको छ ।

आर्थिक र कुटनीतिक रुपमा खासै अन्तर्राष्ट्रिय महत्व नभए पनि अमेरिकाको इन्डो प्यासेफिक रणनीति र चीनको बेल्ट एण्ड रोड रणनीति दुबैमा सहमती देखाएको नेपालको झुकाव चिनफिङको भ्रमणपछि कता तिर जाँला भन्ने विषय यतिबेला चासोका साथ हेरिएको छ ।

वर्तमान सरकारले उच्च प्राथमिकताका साथ आफूले गर्नैपर्ने काममध्ये चिनियाँ राष्ट्रपति भ्रमण, उनको स्वागत सत्कारलगायतका विषयमा देखिएको तयारी र उनलाई नेपाल टेकाउने प्रतिबद्धता पूरा भएकोमा सरकार सफल भएको छ ।

राष्ट्रपति सीको यो राजकीय भ्रमण नेपाललाई कुटनीतिक चातुर्य देखाएर अन्तर्राष्ट्रियस्तरमा आफ्नो स्थान देखाउने अवसर पनि थियो । किनभने पछिल्लो समयमा भएका अन्तर्राष्ट्रिय भ्रमणले खास गरी भारत, चीन र अमेरिका जस्ता देशले नेपालको भू–राजनीतिक अवस्थिति रणनीतिक रुपमा महत्वपूर्ण छ भन्ने संकेत र स्वीकार गरिसकेका छन् ।

विदेशी शक्ति राष्ट्रप्रमुखबाट हुने उच्चस्तरीय भ्रमणमा नेपालको कुटनीति सदैव केही परियोजनामा गरिने हस्ताक्षरमै सीमित रहँदै आएको छ । भारत र चीन हाम्रा छिमेकी मात्रै होइनन । विश्वमान चित्रमा ठूला अर्थतन्त्र पनि हुन् ।

यस्ता देशका कार्यकारी राष्ट्रप्रमुखबाट हुने भ्रमणलाई जमिनमा टेकाउनुलाई मात्रै उपलब्धी मान्न हुँदैन् । त्यसबाट नेपालले दीर्घकालिन फाइदा लिन सक्नुपर्छ । त्यसका लागि सोही तरिकाको कार्ययोजना बनाउनु पर्छ । तर यस्ता भ्रमणबाट नेपालले कुटनीतिक र रणनीतिक फाइदा लिएको दृष्टान्त निकै कम छ । जुन नेपालको कमजोरी बन्दै आएको छ ।

वर्तमान सरकारले उच्च प्राथमिकताका साथ आफूले गर्नैपर्ने काममध्ये चिनियाँ राष्ट्रपति भ्रमण, उनको स्वागत सत्कारलगायतका विषयमा देखिएको तयारी र उनलाई नेपाल टेकाउने प्रतिबद्धता पूरा भएकोमा सरकार सफल भएको छ ।

यद्यपि २१ घण्टा नेपाल बसेका सी औपचारिक रुपमा जम्मा ५ घण्टा मात्रै सक्रिय देखिए । उनलाई सक्दो धेरै व्यस्त बनाउने सवालमा नेपालको कुटनीतिक तयारीमा कमजोरी देखिएको छ ।

नेपालमा राष्ट्रपति सीको यो भ्रमणलाई अति उच्च महत्वकांक्षाका साथ हेरिएको थियो । नेपाल र नेपालीले यस भ्रमणलाई अपेक्षाका चाङ सहित स्वागत गरेका थिए । खासगरी रेल, सुरुङ र सडकमार्गलगायतका ठूला पूर्वाधार र ट्रान्स हिमालय वोर्डर कनेक्सन नेटवर्क अन्तर्गतका परियोजना, विश्व विद्यालय जस्ता विषयमा सहयोगको अपेक्षा नेपालले गरेको थियो ।

यससँगै भ्रमणले जलविद्युत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पनि नेपालमा चिनियाँ लगानीको अपेक्षा गर्न सकिन्छ । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक र नेपाल भ्रमण वर्ष २०२० का लागि पनि यो उच्चस्तरीय भ्रमण फलदायी हुन सक्छ ।

चीनले सजिलै सघाउन सक्ने र नेपाललाई निकै फाइदा हुने साना तथा मझौला उद्योगमा लगानी तथा प्रविधि हस्तान्तरण, पर्यटन, आयात प्रतिस्थापन र ग्लोवल भ्यालु चेनलगायतका क्षेत्रमा नेपाली पक्षले खासै ठोस उपलब्धि हासिल गर्न सकेन ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको यो भ्रमणले चिनियाँ पर्यटक बढाउने लक्ष्यमा सकारात्मक भूमिका खेलेको छ । यसलाई नेपालले कसरी उपयोग गर्न सक्छ भन्ने विषय अब नेपालको पाटोमा छ ।

नेपाल सरकारले चीन सरकारसँग गरेका २० सम्झौतापत्रमा नेपालले अपेक्षा गरे अनुरुप फलदायी भने देखिएन । अति चर्चा गरिएको रेलमार्ग प्रारम्भिक डीपीआरमै सीमित रह्यो । त्यस्तै, चर्चा भए अनुसार मदन भण्डारी विश्व विद्यालयमा कुनै सम्झौता भएन । अन्य सम्झौताहरु पनि आर्थिक र रणनीतिक महत्वका देखिएनन् ।

लामो समयदेखि नेपालको बिकास साझेदार रहिसकेको र नेपाललाई नजिकबाट नियालेको छिमेकी चीनले नेपाललाई राम्रोसँग विश्लेषण गरेको छ । उसलाई नेपालमा अहिले भएका चिनियाँ परियोजना र हाम्रो कार्य क्षमता राम्रोसँग थाहा छ । त्यसकारण पनि अपेक्षा अनुरुप चिनियाँ पक्षले कुनै सरप्राइज प्याकेज घोषणा गरेनन् ।

नेपाली पक्ष पनि उनलाई नेपाल टेकाउनमा मात्र दत्तचित्त भएर लागेको देखियो । त्यसबाहेकको ध्यान निकै उच्च महत्वाकांक्षी परियोजना मात्रै भए ।

चीनले सजिलै सघाउन सक्ने र नेपाललाई निकै फाइदा हुने साना तथा मझौला उद्योगमा लगानी तथा प्रविधि हस्तान्तरण, पर्यटन, आयात प्रतिस्थापन र ग्लोवल भ्यालु चेनलगायतका क्षेत्रमा नेपाली पक्षले खासै ठोस उपलब्धि हासिल गर्न सकेन ।

समग्रमा पछिल्लो २१ घण्टालाई मूल्यांकन गर्ने हो भने चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्नु नै मुख्य उपलब्धि हो । आफ्ना सबै छिमेकी राष्ट्र भ्रमण गरिसकेका सी चिनफिङलाई स्थिर कम्युनिष्ट सरकार भएको अवस्थामा नेपाल भ्रमण गर्नुपर्ने नैतिक दवाव थियो । जुन उनले पूरा गरे ।

यो भ्रमणले नेपाल–चीन सम्बन्ध र सहकार्यमा एउटा इँटा थपेको छ । तर चीनबाट हुने अन्य फाइदाहरु अब नेपालले आफ्नो कुटनीतिक दक्षता र कार्यक्षमता कसरी प्रयोग गर्छ भन्नेमा भर पर्नेछ ।

हामीले हाम्रो कार्यशैली नफेर्ने हो भने जतिनै उच्चस्तरीय भ्रमण भए पनि तिनले दिने परिणाम शुन्य नै हुने छ ।

खनाल अर्थशास्त्रका विद्यार्थी हुन्


क्लिकमान्डु