विश्व बैंकको प्रक्षेपणः आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने




काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको अवस्थामा आइतबार विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गर्दै ६.४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर यो वर्ष सुस्तता देखिने जनाएको छ ।

‘औद्योगिक क्षेत्रको घट्दो उत्पादन र निर्यात तथा वित्तीय क्षेत्रमा देखिएको मन्दीका कारण अर्थतन्त्र कमजोर हुने देखिन्छ, विश्व बजार तथा आन्तरिक बजारमा देखिएको अस्थिरताका कारण दक्षिण एसियाली देशले आर्थिक नीतिहरु वृद्धिदर बढाउने खालको लिनुपर्ने हुन्छ’ विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हार्टविङ स्याफरले भने ।

दक्षिण एसियामा सबैभन्दा बढी आर्थिक वृद्धिदर भुटानले ७.४ प्रतिशत गर्ने उल्लेख गरेको छ । साथै, बंगलादेशको ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै, दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने उल्लेख गरेको छ ।

साथै, मालदिभ्सको ५.५ प्रतिशत, श्रीलंकाको ३.३ प्रतिशत, अफगानिस्तानको ३ प्रतिशत र सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।


क्लिकमान्डु