११ अर्ब रुपैयाँ नयाँ नोट साटियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हप्तामा ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । दशैंको अवसरमा राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म उक्त परिमाणमा नयाँ नोट सटही गरेको हो ।

दशैंमा सर्वसाधारणहरुलाई नयाँ नोट सहटी सुविधा दिन १२ अर्ब रुपैयाँ छुट्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले क्लिकमाण्डुलाई बताए ।

‘राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरका ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट सहटीका लागि व्यवस्था गरेको थियो, उनले भने, ‘जसमध्ये ११ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट साटिएका छन् ।’

गत वर्ष राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट दशैंमा मात्रै सटही गरेको थियो । यो वर्ष कति सटही भए वास्तविक विवरण दशैंपछि मात्र यकिन तथ्यांक आउने प्रवक्ता निरौलाको भनाइ छ ।

यो वर्षको दशैंमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाइएको थियो । गत वर्ष प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था थियो ।


क्लिकमान्डु