अर्थमन्त्रीले भारतीय वित्तमन्त्रीलाई भने- नेपालमा रहेको प्रतिबन्धित भारतीय नोट साट्नुपर्यो



काठमाडौं । भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका वित्त मन्त्री निर्मला सितारमण बीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

उक्त भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरे ।

अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्था बारे जानकारी गराए । उनले भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराए ।

साथै, साना विकास अनुदान योजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्था बारेमा जानकारी गराए । नेपाल इन्फ्रास्टकचर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्य अघि वढाउन अनुरोध गरे ।

अर्थमन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरे । साथै, भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत अनुरोध गरे ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरेका थिए । नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।

भारतका वित्त मन्त्री श्रीमती निर्मला सितारमणले नेपाल भारत बीचको सम्बन्ध सदियौ देखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराइन् ।
उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताइन् ।

साथै, नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकोमा अर्थमन्त्री डा. खतिवडालाई धन्यवाद दिदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराइन् । भेटमा नेपाली राजदुतावास नयाँ दिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको समेत उपस्थिति रहेको थियो ।


क्लिकमान्डु