१८ अर्ब लागतको फोर जी सेवा आजदेखि ५० शहरमा




काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ ।

टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोर जी सेवा सुरु गरेको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो ।

त्यसका लागि करीब १५० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । टेलिकमका अनुसार चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउनेछ। यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा चौथो पुस्ताको फोरजी सेवा सुरु हुनेछ ।

त्यस्तै धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुनेछ ।
तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरियामा सेवा सञ्चालनमा आउनेछ । कर्णाली प्रदेशको सुर्खेतमा फोरजी सेवा सञ्चालनमा आउनेछ ।

सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब खर्च गरेको छ ।

गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेशन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो।

देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ । गत असार मसान्तको विवरण अनुसार हाल टेलिकमको ग्राहक २ करोड २६ लाख ९६ हजार छन् ।

त्यसमा मोबाइल फोन प्रयोग गर्नेको संख्या मात्रै २ करोडको हाराहारीमा छन् ।


क्लिकमान्डु