निर्यात २७.७ प्रतिशतले बढ्दा आयात ११.५ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा कुल वस्तु निर्यात २७.७ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात ३.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ । अन्य मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६-७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर १० खर्ब ६ अर्ब ७३ करोड रुपैयाँ कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ ।

चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।

आव २०७६-७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई ९७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको थियो ।

२०७६ साउन महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क १ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २ प्रतिशतले घटेको छ । २०७५ साउन महिनामा वार्षिक बिन्दुगत आधारमा २.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ साउन महिनामा ३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु