फिनल्याण्ड र युएइले नेपालको विकासमा सघाउने



न्यूयोर्क   । फिनल्याण्ड र युएइले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब (युएइ) उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।

मन्त्री ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा वैदेशिक व्यापारमन्त्री भिले इस्किनारी र संयुक्त अरब इमिरेट्सका विदेश राज्यमन्त्री अन्वर बिन मोहम्मद गार्गसले नेपाललाई सक्दो सहयोग गर्ने बताएका हुन।  फिनल्याण्डका मन्त्रीसँगको भेटमा नेपाल–फिनल्याण्ड सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र फिनल्याण्डबीच बहुपक्षीय एवं क्षेत्रीय मञ्चहरूमा साझेदारी गर्ने तथा विद्यमान सम्बन्धलाई नयाँ गति दिनेमा दुवै मन्त्रीबीच सहमति भएको छ ।

मन्त्री ज्ञवालीले नेपालमा लगानीको अनुकूल वातावरण बनेकाले भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। नेपालको आर्थिक विकासका निम्ति फिनिस सहयोगको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री ज्ञवालीले विकास र समृद्धितर्फको नेपालको यात्रामा फिनल्याण्डजस्ता नेपालको विकासका साझेदारबाट सहयोगको मात्रामा बढोत्तरीको अपेक्षा आफूले गरेको हुन ।

मन्त्री इस्किनारीले नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा आफ्नो देशबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरे  । त्यसैगरी युएइका विदेश राज्यमन्त्रीसँगको भेटमा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालीको श्रम गन्तव्य मुलुक युएइमा नेपालीका सुविधा र सुरक्षा, नेपालमा युएइको लगानी, व्यापारलगायत विषयमा केन्द्रित रहेर दुवै मन्त्रीले विचार आदान–प्रदान गरेका छन ।

 

 

 


क्लिकमान्डु