बीमा कम्पनीका कर्मचारीलाई पनि कुलिङ पिरियड




काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कर्मचारीहरुलाई कुलिङ पिरियड लागू भएको छ । बीमा समितीले निर्जीवन बीमा बीमक आचारसहिंता परिवर्तन गरी कर्मचारीहरुलाई १ महिनाको कुलिङ पिरियड लागू गरिएको हो ।

समितीले नेपाल बीमक संघको पुरानो विद्यानलाई परिमार्जन तथा संशोधन गरेपछि अब निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले कुनै एक निर्जीवन बीमा कम्पनीबाट राजीनामा स्वीकृत भएको १ महिना पश्चातमात्र अर्को निजीवन बीमा कम्पनीमा जागिर खान पाउने भएको हुन् ।

संशोधित आचारसहिंता असोज ३ गतेदेखि लागू भएको हो ।

बीमा कम्पनीहरुमा व्यवसायलाई तीव्रता दिन कर्मचारीको समस्या बढेको छ । बीमा कम्पनीहरु नयाँ कर्मचारीहरुमा लगानी गर्नुभन्दा पनि अर्को बीमा कम्पनीमा भएका कर्मचारीलाई लोभलालच दिएर आफ्नो कम्पनीमा तानिरहेका हुन्छन् ।

‘अर्को कम्पनीका पुरानो कर्मचारीलाई १/२ तह माथी प्रमोशन दिएर ल्याउन सजिलो हुने भएको अहिले विकृति बढेको छ’ प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले क्लिकमाण्डूलाई बताए ।

कर्मचारी अभावलाई झेल्दै व्यवसायमा तीव्रता दिन र सञ्चालकहरुले दिएको तार्गेट पूरा गर्न बीमा कम्पनीको सीइओहरुलाई गाह्रो छ ।

‘कर्मचारी व्यवस्थापन गर्ने २ तरिका छन्, १ नयाँ फ्रेस कर्मचारीहरु नियुक्त गर्ने र अर्को कम्पनीका पुराना कर्मचारीलाई प्रमोशन दिएर ल्याउने,’ उनी भन्छन् ‘अहिले त कर्मचारीहरु आफै पनि सानो कम्पनीहरुमा अनुभवको लागि मात्र काम गर्ने र ठूलो अफर आउने वित्तिकै छोडेर जाने प्रवृति बढेको छ ।’

नेपाल बीमक संघको संशोधित नियमअनुसार बीमा कम्पनीहरुले काम गरेमा मात्र परिमार्जित नियमले सार्थकता पाउने युनाइटेड इरोरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले क्लिकमाण्डूलाई बताए ।

‘पुराना ठूला बीमा कम्पनीहरुले नै अरु कम्पनीका कर्मचारीहरुलाई २ तहसम्म माथिको पद दिएर लैजाने गर्छन्,’ उनले भने ‘नियम बनाएर मात्र भएन लागू पनि गर्न सक्नुपर्छ, घरमा ठूला दाईहरुले जे गर्छन साना भाईहरुले पनि त्यही सिको गर्ने हुन् ।’

पुराना बीमा कम्पनीहरुले अर्को बीमा कम्पनीबाट कर्मचारीहरुलाई लोभ लालच देखाई कर्मचारी तान्ने प्रवृति नयाँ बीमा कम्पनीहरुलाई सिकाएको सिइओ भट्टराईको बुझाइ छ ।

हाल नेपालमा २० वटा निर्जीवन र १९ वटा जीवन बीमा कम्पनी गरेर ३९ वटा बीमा कम्पनीहरुले बीमा व्यवसाय गरिरहेका छन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको मुलुकभर ८ सय ६९ वटा शाखा कार्यलय छन् । जसमा गत आर्थिक वर्षको अन्त्यसम्म ४ हजार ६८८ कर्मचारीहरु कार्यरत हरेको बीमा समितीले जनाएको छ ।

साथै १९ वटा जीवन बीमा कम्पनीहरुको १ हजार ६५४ शाखामा ४ हजार ७५८ कर्मचारी कार्यरत रहेको बीमा समितीको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु