दशैंमा नयाँ नोट साट्न पाउने सीमा घट्यो, नयाँ नोटमा बिगार्नेलाई ३ महिना जेल



काठमाडौं । यो वर्षको दशैंमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाइने भएको छ ।

गत वर्ष प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था थियो ।

तर यो वर्ष नेपाल राष्ट्र बैंकले नोट वितरणको सीमा घटाएको छ । गत बर्षको तुलनामा यो वर्ष राष्ट्र बैंकले ८ हजार ५ सय रुपैयाँले नयाँ नोट सटहीको रकम सीमा घटाएको हो ।

गत वर्षको तुलनामा नोट सर्कुलेसन घटेका कारण दशैंमा वितरण गरिने नयाँ नोटको रकम सीमा घटाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रप्पन निरौलाले बताए ।

‘पैसाको विकाल्पमा कार्डहरुको प्रयोग बढी हुन थाल्यो, विगतका वर्षहरुमा जस्तो नोट सर्कुलेसन बढेको छैन्’ उनले भने, ‘गत वर्षभन्दा यो वर्ष २ अर्बले नोट सर्कुलेसन घटेको छ ।’
एक वर्षको अवधिमा न्यूनतम ६ प्रतिशतले नोट सर्कुलेसन बढ्नुपर्ने प्रवक्ता निरौलाको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने जनाएको छ ।

एक जनाले ५, १०, २०, ५० र १०० रुपैयाँका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने छन् ।

राष्ट्र बैंकले १८ हजार ५ सयभन्दा बढी नयाँ नोट आवश्यक पर्नेलाई आवश्यक मात्रामा सुकिला नोटहरु साट्न पाउने व्यवस्था गरेको छ ।

विगतका वर्षहरुको दशैमा ठूलो परिमाणमा नयाँ नोटमात्रै सटही गर्दा राष्ट्र बैंकको ढुकुटीमा सुकिला नोटहरु थन्को लगेको र नयाँ नोटमा थप खर्च बढेको हुँदा यो वर्षदेखि नयाँ नोट सटहीको दायारा घटाएर आवश्यक पर्नेलाई सुकिला नोट दिन लागिएको राष्ट्र बैंकका प्रवक्ता निरौलाको भनाइ छ ।

राष्ट्र बैंकले साटिएका नयाँ तथा सुकिला नोटहरुमा रंगलागेमा अथवा कोरिएको भेटेमा ५ हजार जरिवाना सहित ३ महिना जेल सजाय दिने भएको छ । अब रंगलागेको र कोरिएको नोटलाई चलनचन्तीमा आउन नै रोक लगाएको प्रवक्ता निरौलाले बताए ।

यस वर्षको दशैंमा नयाँ नोटहरु साट्न राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार र उपत्यका बाहिर नेपाल राष्ट्र बैंकको नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुर कार्यलयबाट नोट साट्न सकिने छ ।

काठमाडौंमा भने राष्ट्र बैंकका सरकारी बैंकहरु नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंक शाखाको शाखा कार्यलयहरु न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा नयाँ तथा सुकिला नोट साट्न पाउने ।

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल बालाजु, लुभु र टोखा
कुषि विकास बैंकमा गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोटर पुल्चोक शाखाबाट नयाँ तथा सुकिला नोटहरु साट्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउनेछन् ।


क्लिकमान्डु