वायुसेवा निगमलाई ५ अर्ब रुपैयाँको आइपिओ ल्याउन सुझाव



काठमाडौं । नेपाल वायुसेवा निगमलाई दीर्घकालिन रुपमा संंचालन गर्नको लागि सार्वजनिक सेयर निष्कासन(आइपिओ) जारी तथा रणनीतिक साझेदार ल्याउन सुझाव दिइएको छ ।

वायुसेवा निगम सुधारको लागि गठन भएको कार्यदलले निगमलाई व्यवसायिक रुपमा संचालन गर्नको लागि आइपिओ जारी गर्ने सुझाव दिएको हो । सरकारले पूर्व सचिव शुसील घिमिरेको संयोजकत्वमा वायुसेवा निगमको सुझाव दिनको लागि कार्यदल गठन गरेको थियो । कार्यदलले दिएको सुझावमा सार्वजनिक निजी साझेदारीको अवधारणमा निगमलाई संचालन गर्ने सुझाव दिइएको छ ।

कार्यदलले आफ्नो सुझाव बुधबार पर्यटनमन्त्री योगेश भट्टराई समक्ष पेश गरेको छ ।

जसमा १०० अर्ब रुपैयाँको निगमको चुक्ता पूँजी कायम गर्ने र त्यसको ५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सुझाव दिएको छ । १०० अर्ब रुपैयाँको चुक्ता पूँजीमा ५ प्रतिशतको दरले सर्वसाधारणलाई बिक्री गर्दा ५ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई बिक्री गर्न भनिएको छ ।

कार्यदलले निगमलाई संचालन गर्नको लागि ३५ प्रतिशत सेयर रणनीतिक साझेदारलाई बिक्री गर्न भनेको छ । रणनीतिक साझेदार बिना निगम संचालन गर्न कठिनाई हुने निष्कर्ष कार्यदलको छ ।

निगमलाई व्यवस्थित ढंगले संचालन गर्नको लागि रणनीतिक साझेदारको कुरा पहिलेपनि उठेपनि कार्यान्वयन भने हुन सकेको छैन । कार्यदलले विमान उठाएर मात्र पैसा कमाइ नहुँने भन्दै सहायक कम्पनीबाट अरु काम गर्न समेत सुझाव दिएको छ ।

यस्तै कार्यदलले आन्तरिक तर्फ फाइदा हुने क्षेत्रमा निगमको उडान बढाउन तथा विदेशी उडानमा पनि फाइदा हुने क्षेत्रमा उडान बढाउन सुझाव दिएको छ ।

कार्यदलको सुझाव लिदै पर्यटनमन्त्री योगेश भट्टराईले कार्यतालिका बनाएर सुझावलाई कार्यान्वयनमा लगिने बताए ।


क्लिकमान्डु