नौ महिनामा साढे ८ सय सञ्चयकर्ताको बीमा, ४ करोड दावी भूक्तानी



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोष बीच सञ्चयकर्ताहरुको घातक रोगको उपचारको लागि बीमा गर्न सम्झौता भएको नौ महिनामा ८५३ जनाले बीमा गरेका छन् ।

बीमा गरेको ८५३ सञ्चयकर्ता बिरामीहरुले तीन करोड ८८ लाख बराबरको बीमा दावी भूक्तानी गरेका छन् । गत कात्तिक २८ गते समझदारी भएर मंसिर १ गते देखि यो व्यवस्था लागु भएको थियो । तत्कालीन समयमा १ लाख रुपैयाँको औषधोपचार तथा १० लाख बराबरको घातक रोगको उपचारको लागि बीमा गर्न सम्झौता भएको थियो ।

आज (सोमबार) ८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई ४० लाख बराबरको घातक रोगको औषधोपचार खर्च प्रदान गरिएको छ । बीमा दावी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरुमा शिवजी गुरुङ्ग, शान्ता थापा देउला, राधा देबी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्त बहादुर देउला, सावित्रि आचार्य, शान्त बहादुर भुजेल र लेखनाथ खतिवडा रहेका छन् ।

सञ्चयकर्ता शिवजी गुरुङ्गले सञ्चय कोष र बीमा कम्पनी बीच भएको बीमाले आम सञ्चयकर्ताहरुलाई निकै राहत मिलेको बताए । सञ्चय कोषका प्रवक्ता तुलसी प्रसाद गौतमले कम्पनी र कोषको सम्बन्ध अझ प्रगाढ बनाउँदै बीमा ब्यवसाय अझ सुदृढ बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताए ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले केही प्राविधिक तथा प्रशासनिक कठिनाईका बावजुत कम्पनीले बीमा दावी भूक्तानी प्रकृयालाई यहाँसम्म ल्याईपुर्याईएको बताए । उनले आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट दावी प्रकृया अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।


क्लिकमान्डु