पूर्वाधार सम्मेलनमा पूर्वअर्थमन्त्री डा. महतको प्रशंसा, महतको नीतिले नेपालमा निजी क्षेत्र फस्टायो



काठमाडौं । काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा पूर्वअर्थमन्त्री डा रामशरण महतको नीतिको प्रशंसा गरिएको छ ।

२०४८ सालको कांग्रेसको सरकारको पालामा महत योजना आयोगको उपाध्यक्ष थिए । उनको पहलमा सरकारले निजीकरण तथा निजी लगानीलाई प्रवर्द्धन गर्ने नीति लिएको थियो ।

अर्थमन्त्री बनेकामध्ये महतलाई निजी क्षेत्रमैत्री अर्थमन्त्रीको रुपमा व्यवसायीहरुले लिने गर्छन् ।

उद्योग परिसंघको आयोजनामा गरेको पूर्वाधार सम्मेलनमा ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले डा. महतको नीतिको कारण निजी क्षेत्रले अहिले सरकारले उत्पादन गरे मेगावाट बराबर ऊर्जा उत्पादन गर्न सफल भएको बताए ।

‘आज निजी क्षेत्रको विकास हुनुको पछाडि महतले लिएको नीतिको योगदान छ, जसले गर्दा निजी क्षेत्र फस्टाउन पाएको छ,’ प्रधानले भने ।

उनले जलविद्युत् आयोजनामा निजी क्षेत्रलाई लगानी गर्नको लागि ब्याजदर प्रमुख समस्या भएको बताए ।

कार्यक्रममा सहभागी पूर्वअर्थमन्त्री तथा कांग्रेसका नेता महतले निजी क्षेत्रको लगानीले नै देशको विकास अगाडि बढ्ने बताए ।

‘नेपालमा जलविद्युत् लगायत क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरेको तथा यसको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने नीति आवश्यक छ’ उनले भने । उनले नेपालको अर्थतन्त्रमा व्यापारघाटा ठूलो समस्या भएको बताए ।


क्लिकमान्डु