सामाजिक सुरक्षा कोषमा ५० हजारभन्दा बढी श्रमिक आवद्ध



काठमाडौं । सामाजिक सुरक्षामा कोषमा भदौ २५ गतेसम्म सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको छ ।

सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिँदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य बढ्दै गएको हो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार सूचीकृत हुने ५० हजार श्रमिकमा ठूला रोजगारदाताको संख्याबढी देखिएको छ ।

सूचीकृत रोजगार दाताको संख्या ४ हजार ७९० र श्रमिकको संख्या ५० हजार १४० छ ।

आवद्ध हुने ठूला रोजगारदातामा चौधरी गु्रप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम् सिमेन्ट, युनिलिभर, जिफोर एस सहित १ सय १७ वटा आउटसोर्सिङ कम्पनी छन् ।

साथै, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर गु्रप, यति डिष्ट्रिलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज, दराज डटकम छन् ।

यस्तै, कोषले सूचीकृत हुन सजिलो होस भन्नका लागि प्राविधिक सुधार गरेको छ । साथै ठूला रोजगारदाताकोमै कोषका कर्मचारी पुगि श्रमिक सूचीकरणमा सहयोग गरिरहेको छ । त्यस्तै, विभिन्न क्षेत्रसँग छलफल गरी कल सेन्टर केही दिनमै खोल्ने तयारी गरेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।


क्लिकमान्डु