अर्थमन्त्रीले भने- पूर्वाधार विकासको स्रोत जुटाउने ठाँउ सेयर बजार



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकासको स्रोत जुटाउने ठाँउ सेयर बजार भएको बताएका छन् ।

राजधानीमा बुधबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘पूर्वाधार विकासका लागि चाहिने स्रोत जुटाउने ठाँउ भनेको सेयर बजार हो । सेयर बजारबाट आईपीओ जारी गरेर पूवर्धारको विकासमा लगानी जुटाउन सकिन्छ ।’

नेपालमा पूर्वाधार विकासका लागि लगानी आवश्यक रहेकाले त्यसका लागि उपयुक्त सेयर बजार भएको मन्त्रीको तर्क छ । उनले बण्ड मार्केट पनि प्रभावकारी माध्यम हुने उल्लेख गरे ।

मन्त्री खतिवडाले सम्मेलनमा यतिबेला नेपालमा पूर्वाधारमा लगानी गर्नेहरुका लागि करमा सहुलियत दिएको बताए । उनले अहिले राजनीतिक अवस्था पनि सहज भएकाले लगानी गर्न आग्रह गरेका छन् ।

लगानीकर्ताहरुलाई लगानीको नाममा विदेशबाट ऋण नल्याउन आग्रह गर्दै खतिवडाले भने, ‘पूर्वाधारमा लगानी गर्ने भनेर विदेशबाट ऋण नल्याउनु, ल्याउने नै हो भने लगानी नै ल्याउनु ।’

मन्त्री खतिवडाले अन्य देशमा लगानी गर्दा १० प्रतिशत मात्रै प्रतिफल पाउने तर नेपालमा लगानीगर्दा २५ प्रतिशत प्रतिफल पाउने भएकाले यो मौकाको फाइदा उठाउन आग्रह गरेका छन् ।

सम्मेलनमा खतिवडाले सरकारले सदैव घाटामा मात्रै काम गर्ने र निजी क्षेत्र सधै फाइदामा मात्रै जान नसक्ने भन्दै आगामी दिनमा बराबरी हुनेगरी व्यवसाय गर्नुपर्ने बताए ।

सम्मेलनले लगानी भित्र्याउन कुनै कानूनी जटिलता देखे छलफल गरी सुझाव दिन आग्रह गरे । उनले भने, ‘लगानी भित्र्याउने सवालमा कुनै कानून बाधक भए सुधार गर्न सरकार तयार छ ।’


क्लिकमान्डु