इन्द्रजात्राको अवलोकन गर्न ६ देशका ४५ जना पाहुना आउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय वर्ष इन्द्रजात्राको अवलोकन गराउन ६ वटा देशका ४५ जना पाउनुलाई बोलाएको छ ।

बुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर विद्या शुन्दर शाक्यले विभिन्न ६ वटा देशको १२ वटा शहरका ४५ जना पाहुना आउन लागेको बताए ।

उनले भने, ‘चीन, अमेरिका, जापान, भुटान, बंगलादेश र भारतका विभिन्न शहरबाट ४५ जना पाहुना आउन लाग्नु भएको छ ।’ शाक्यका अनुसार पाहुनाहरुले ४ रात ५ दिन काठमाडौंमा बिताउने छन् । आउने पाहुनालाई नेपालको संस्कृतिको बारेमा जानकारी गराउने शाक्यले बताए ।

इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४५ जना पाहुना आउने निश्चित भएको छ । गएको ७ महिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालिएको थियो ।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली आउने पत्र प्राप्त भएको महानगरले जनाएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४५ जना हुनेछ ।

महानगरले यो कार्यक्रम भिजिट नेपाल २०२० मा लाई सहयोग स्वरुप यो कार्यक्रम गरेको उनले बताए । यो क्रममा उपत्यकाका विभिन्न भित्री शहरमा घुमाउने, भत्तपुर, ललितपुर, चन्द्रागिरी, स्वयम्भुको अवलोकन गराउने महानगरको तयारी रहेको छ ।

भदौ ३१ गते हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ९ बजेर ३५ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस बर्षका लािग जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछन् ।


क्लिकमान्डु