प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खतिवडाको आलोचना, विज्ञ व्यक्ति अर्थमन्त्री हुँदा जनताले दुःख पाए



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खतिवडाको आलोचना भएको छ ।

सांसद्हरुले विज्ञ व्यक्ति अर्थमन्त्री हुँदा समेत जनताले दुःख पाएको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको छ ।

नेपाली कांग्रेसका सांसद देव प्रकाश तिमल्सिनाले विज्ञ अर्थमन्त्री हुँदा पनि जनताले निकै दुःख पाएको बताए । प्रतिनिधि सभाको बैठकमा सांसद तिमल्सिनाले अर्थमन्त्री धेरै नै विद्वान भएको र उहाँ भएको समयमा कर धेरै चुहावट भएको तर्क गरे । उनले भने ‘ सरकारले समयमा नै कर नउठाउने र ठूला करदाता मध्ये पनि कतिले अदालतबाट मिनाहा पाउने र कतिले लिँदै नलिने गरेर देश चल्दैन । उहाँजस्तो अर्थमन्त्री हुँदा पनि कर उठने अवस्था उस्तै छ, जनताले पाउने दुःख पनि उस्तै छ ।’

राजस्व उद्योगीले मात्र नभएर सरकारी कर्मचारीको मिलेमतोमा हुने गरेको उनको तर्क छ । सरकार र उद्योगपतिको मिलेमतो नहुने हो भने राजस्व चुहावट नहुने उनले दाबी गरे ।

हामीले नियन्त्रण गरेर राम्रोसँग समयमा नै कर तिर्ने र यति तिर्नैपर्ने नीति ल्याउने हो भने कर छलि न्यून हुने तिमल्सिनाको बुझाई छ । ‘सरकार कर उठाउने विषयमा पनि टाइट हुनु पर्यो भाषणमा मात्र टाइट भएर भएन’ उनले भने ।

अहिले सरकारले व्यापारीको टाउको माथि तरवार झुण्डयाउने र आफु मात्रै फाइदा लिने गरेकोले राजस्व चुहावट भएको उनको दाबी छ । सरकारको मिलेमतो नभइ कुनै पनि राजस्व चुहावट नहुने उनको तर्क छ ।

राम्रो सँग राजस्व तिर्नेलाई सरकारले सम्मान गर्नु परेको खण्डमा राजस्व तिर्नेको मनोबल पनि बढने उनको भनाई छ । कर छल्ने र कर्मचारी दुवैलाई कारबाही भएको खण्डमा यो रोकिने उनको तर्क गर्दै त्यसतर्फ अग्रसर हुन आग्रह गरे ।


क्लिकमान्डु