फेरि घट्यो सुनको मूल्य, खरिदकर्तालाई राहत



काठमाडौं । गत सातासम्म लगातार वृद्धि भएको सुनको मूल्य साताको पहिलो दिन प्रतितोलामा ५०० रुपैयाँले घटेर सुरुवात भएको छ ।

गत बुधबार प्रतितोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन त्यसयता लगातार घटीरहेको छ ।

भदौ १९ गते बिहीबार १०० रुपैयाँले घटेर ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँले कमी आएर ७२ हजार आएको थियो ।

यसरी हेर्दा तीन दिनमा एक तोलामा १९ सय रुपैयाँले घटेको हो ।

त्यस्तै, साताको पहिलो दिन भदौ २२ गते आइतबार शुक्रबारको तुलनामा ५०० रुपैयाँले घटेर फेरि ७१ हजार ५०० रुपैयाँ कायम भएको हो ।
आइतबार तेजावी सुनको मूल्यमा पनि शुक्रबारको तुलनामा ५०० रुपैयाँले घटेर प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ८८५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा व्यापार युद्ध र राजनीतिक उतारचढावका कारण आकासिएको मूल्य अहिले पुनः घटिरहेको हो ।

नेपाली बजारमा भने डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले सुनको भाउ उकालो लागेको थियो ।


क्लिकमान्डु